६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडी गेँन्टोको निधन
काठमाडौं । अहिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।
यी स्पेनिस खेलाडीले सन् १९५३ देखि १९७१ सम्म रियल म्याड्रिडका लागि खेल्दै त्यसबीचमा ६ पटक युरोपियन कप जितेका थिए । उनले रियल म्याड्रिडका लागि ६ सय पटक खेल्दै एक सय ८२ गोल गरेका थिए ।
लेफ्ट विंगरको भूमिकामा खेल्ने गरेका गेँटोले रियल म्याड्रिडका लागि १२ पटक घरेलु लिग, २ पटक कोपा डेल रे र एकपटक इन्टर कन्टिनेन्टल कप जितेका थिए । स्पेनको सिनियर राष्ट्रिय टोलीबाट ४३ पटक प्रतिनिधित्व गरेका उनले विश्वकपका दुई संस्करण पनि खेलेका थिए ।
रियल म्याड्रिडका लागि सर्वाधिक २३ उपाधि जित्ने खेलाडीका रुपमा गेँटोले बनाएको कीर्तिमान आइतबार मात्र मार्सेलोले बराबरी गरेका थिए, स्पेनिस सुपर कप जित्दै ।