‘ए’ डिभिजन लिग : संकटाको अपराजित यात्रामा पूर्णविराम
काठमाडौं । सब्सिट्युड खेलाडी विजय भुजेलको निर्णायक गोल प्रेरित थ्री–स्टार क्बलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
दशरथ रंगशालामा शनिवार भएको दोस्रो खेलमा संकटाको अपराजित यात्रालाई पूर्णविराम लगाउँदै थ्री–स्टारले तीन अंक जोडेको छ ।
थ्री–स्टारका लागि सब्सिट्युट खेलाडी विजयले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गर्दै जित दिलाएका थिए ।
खेलको दोस्रो मिनेटमा थ्री–स्टारका सन्जोक राईले पेनाल्टी एरियाको एजबाट गरेको प्रहार फ्रेममा परेन । यस्तै, चौथो मिनेटमा पुन थ्री–स्टारले अग्रता लिने अवसर गुमाएको थियो ।
डिफेन्डर निशान खड्काले पेनाल्टी एरीया बाहिरबाट गरेको प्रहार सिधै संकटाका गोलकिपर राजाबाबु थापाको हातमा परेको थियो ।
थ्री–स्टारका घनेफोले छैठौं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा संकटाका कप्तान रवि सिलवालले रोकेका थिए ।
संकटाका लागि फरवार्ड फोडे फोफानाले सातौं मिनेटमा पेनाल्टी एरिया बाट गरेको प्रहार थ्री–स्टारका गोलकिपर प्रीसोले बचाएका थिए ।
त्यसको एक मिनेट नबित्दै लक्ष्मण रुचालले ६ यार्ड बक्स अगाडीबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरीदा संकटा अग्रता लिनबाट चुक्यो ।
थ्री–स्टारका लागि राफाएल रिमलले २२औं मिनेटामा फ्रिकिक मार्फत गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।
संकटाले ३४औं मिनेटमा गोल गर्ने सुन्दर मौका खेर फालेको थियो ।
लक्ष्मण रुचालको पासमा ओलुवासोगो ग्लोरिले ६ यार्ड बक्स अगाडिबाट गरेको प्रहार थ्री–स्टारका गालकिपर प्रिसोले उत्कृष्ट बचाउ गरेका थिए ।
यस्तै, पहिलो हाफमो इन्जुरी समयमा थ्री–स्टारका डिफेन्डर निशान खड्काको क्रसमा फरवार्ड सन्जोक राईले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा परेन ।
जितसँगै थ्री–स्टार नौ खेलबाट १६ अंकसहित लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ पराजित संकटा समान खेलबाट १४ अंकसहित पाँचौं स्थानमा झरेको छ ।