खुल्यो ‘चपली हाइट ३’ र जापानी फिल्मको एड्भान्स बुकिङ : सोज राम्रै तर, अकुपेन्सीको चुनौति – Nepal Press

खुल्यो ‘चपली हाइट ३’ र जापानी फिल्मको एड्भान्स बुकिङ : सोज राम्रै तर, अकुपेन्सीको चुनौति

काठमाडौं । कोरोनाभाइरसको तेस्रो लहरको जोखिम बीच रिलिज हुन लागेका दुई फिल्म ‘चपली हाइट ३’ र जापानी फिल्म ‘माइ हिरो अकाडेमिया’को एड्भान्स बुकिङ आज बिहानदेखि खुलेको छ ।

क्यूएफएक्ससहितका मल्टिप्लेक्समा दुबै फिल्मले राम्रो सोज प्राप्त गरेपनि प्रि-बुकिङको ट्रेन्ड भने न्यून छ । गतसाता २४ वटा ओमिक्रोन भेरिएन्ट पुष्टि भएपछि ह्वात्तै बढेको कोरोना संक्रमणको असर नेपाली बक्सअफिसमा स्पष्ट देखिएको छ । सरकारले ५० प्रतिशत अकुपेन्सीमा हल खुलाउन र माघ ७ गतेदेखि खोप कार्ड देखाएर मात्र हल छिर्न अनुमति दिएको छ ।

क्यूएफएक्सले स्वस्तिमा खड्का स्टारर चपली हाइटलाई शुक्रबार १३ सोज दिएको छ । एप्पल इन्टरटेनमेन्टको जापानी फिल्म ‘माइ हिरो अकाडेमिया : वल्र्ड हिरोज् मिसन’ले क्यूएफएक्समा ६ सोज पाएको छ ।

बिग मूभिजले चपली हाइटलाई पाँच सोज र माइ हिरो अकाडेमियालाई २ सोज दिएको छ । यो समाचार तयार पारुञ्जेल वान सिनेमाज् र मिड टाउन मल्टिप्लेक्सले बुकिङ खोलेका छैनन् ।

बरु, ‘पुष्पा’ले शुक्रबार क्यूएफएक्समा १२ सोज पाएको छ भने स्पाइडर म्यानले ६ सोज पाएको छ ।

शुक्रबार नयाँ फिल्महरु प्रदर्शनमा आउने तयारी भएपनि यी दुईजनाको व्यवसायिक भविष्य चाहिँ यसैसाता पुनः बस्ने काठमाडौं जिल्ला कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीएमसी)को बैठकमा निर्भर हुनेछ । काठमाडौं उपत्यकामा बुधबार १५३८ जना संक्रमित थपिँदा देशभर ३०७५ संक्रमित थपिएका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *