प्रधानमन्त्री कप क्रिकेट : १० खेलाडीमा सीमित आर्मीद्वारा कर्णाली पराजित
काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ ।
१० खेलाडीमा सीमित रहेको आर्मीले कर्णालीलाई १४.४ ओभरमा ५३ रनमा समेटेको थियो ।
आर्मीका खेलाडी सोनु तामाङ मैदानमा आएका थिएनन् । म्याच रेफ्री समिर खानले आर्मीले उनलाई किन मैदानमा नउतारेको कुनै जानकारी नदिएको बताए । त्यसकारण वैकल्पसक खेलाडीलाई मैदानमा प्रवेश गर्न रोक लगाइएको थियो ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको कर्णालीलाई ११७ रनको लक्ष्य दिएको थियो ।
आर्मीले दिएको विजयीलक्ष्य पछ्याएको कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ रन र कप्तान रविन्द्र शाहीले १५ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
आर्मीको वलिङमा जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए । सुशन भारीले र साहव आलमले २/२ विकेट तथा सोम्पाल कामी र विक्रम शोवले समान १ विकेट लिए ।
यसअघि, टस हारर ब्याटिङको निम्तो पाएको आर्मीले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १६ रनको योगफल तयार गरेको थियो । अन्तिम ओभरमा ९ विकेट गुमाएको आर्मीका सानु तामाङ रिटायर हर्ट भएका थिए ।
आर्मीका लागि ओपनर सोम्पाल कामी ९ र हरि चौहान २१ बलमा ३ चौकासहित २० रन बनाएर पेभिलेन फर्किएका थिए ।
यस्तै, कप्तान विनोद भण्डारीले १७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २९ रन बनाए । रोहित पौडेल र कुशल मल्लले समान १० रनबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
कर्णालीको बलिङमा प्रकाश जैशीले सर्वाधिक ३ विकेट लिए । अनुज चुनरा २ तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले समान १ विकेट लिए ।
समूह ‘ए’ र ‘बी’ मा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको प्रतियोगिता माघ ५ गतेसम्म त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा हुनेछ ।