थ्रीलर-हरर फिल्म ‘पर्पला’को फस्टलुक पोस्टर लन्च : यस्तो छ निखिलाको हरर अवतार – Nepal Press

थ्रीलर-हरर फिल्म ‘पर्पला’को फस्टलुक पोस्टर लन्च : यस्तो छ निखिलाको हरर अवतार

काठमाडौँ । अस्ट्रेलियाली डायस्पोरामा बनेको नेपाली फिल्म ‘पर्पला’ को फस्टलुक पोस्टर लन्च भएको छ । कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोन त्रास बढ्दै गएपनि फिल्मलाई जीवन्त तुल्याउन पोस्टर सार्वजनिक गरिएको हो ।

थ्रीलर र हरर जनरा बताइएको यो फिल्मको लेखन तथा निर्देशन मनोज अधिकारीले गरेका हुन् । अष्ट्रेलियामा बस्ने नेपालीहरुको कथावस्तुमा आधारित रहेको फिल्मको सबै छायांकन त्यहीँ गरिएको छ । अष्ट्रेलियामा कार्यरत नेपाली नर्सले काम गर्दा भोगेका अस्वभाविक गतिविधिको चुनौति फिल्मको कथावस्तु हो । हरर जनरामा बनेको फिल्ममा निखिला बुढाथोकीको मुख्य भूमिका छ । पोस्टरमा उनकै चरित्रलाई चित्रण गरिएको छ ।

निखिला पेशाले नर्स पनि हुन् ।

विदेशी प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण भएको फिल्मको दोस्रो चरणको छायांकन हुन बाँकी छ । कोरोनाको स्थितीमा सुधार भएपछि मात्र फिल्मलाई रिलिज गरिने भएको छ । अहिले अष्ट्रेलियामा कोरोनाको नयाँ भेरिएन्टको संक्रमण तीव्ररुपमा फैलिएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

निर्माता तथा अभिनेता भानु प्रताप ढकालले यसअघि ‘लालटिन’ निर्माण गरेका थिए । यसअघि उनले नेपाली फिल्ममा समेत अभिनय गरेका छन् । निर्देशक अधिकारीले फिल्म ‘ऋतु’को निर्माण तथा निर्देशन गरेका थिए ।

‘पर्पला’ फिल्मको मुख्य पात्रमा पुकार गौतमले अभिनय गरेका छन् । झरना थापासँग उनले ‘झिल्के’ फिल्ममा स्क्रिन सेयर गरेका थिए । अभिनेता गौतमले ‘पर्पला’ले नेपाली फिल्मलाई अघि बढाउने दाबी गरे ।

टेलीसिरिज र फिचर फिल्ममा समेत अभिनय गरेकी प्रेक्ष्या अधिकारीले पनि ‘पर्पला’ फिल्ममा को-एक्ट्रेसको भूमिकामा अभिनय गरेकी छिन् । अष्ट्रेलियाली अभिनेत्री ओल्गा तमराको पनि अभिनय छ । १ दर्जन बढी अष्ट्रेलियाली कलाकारले समेत अभिनय गरेको जनाइएको छ ।

आरकेएस अस्ट्रेलिया,ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता ढकाल हुन् । कास्मिर डिक्सनको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ । रबिन्द्रकुमार शर्मा,डम्बरबहादुर रसाइली, छबी अधिकारी, सरोजकुमार वाइबा निर्माता हुन् । सरस्वती गौतम, सृजना लगुन, भीमराज रसाइली, वचनकुमार मल्ल सहनिर्माता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *