युवराज लामाको फिल्म ‘आनी’मा जान्वी र सिद्धार्थ लिड रोलमा : जान्वीले कपाल खौरिने र तीनमहिना गुम्बामा बिताउने – Nepal Press

युवराज लामाको फिल्म ‘आनी’मा जान्वी र सिद्धार्थ लिड रोलमा : जान्वीले कपाल खौरिने र तीनमहिना गुम्बामा बिताउने

काठमाडौं । युवराज लामाले निर्देशन गर्ने फिल्म ‘आनी’का मुख्य तीन कलाकार फाइनल भएका छन् ।

निर्देशक लामाका अनुसार नेपाली र अंग्रेजी भाषामा छायांकन हुने फिल्मको मुख्य भूमिकामा जान्वी बस्नेत, विजय लामा र सिद्धार्थ लामा फाइनल भएका छन् ।

मुख्य दुईवटा सर्त पालना गर्न सहमत भएपछि जान्वीलाई लिड नायिकामा फाइनल गरेको जानकारी निर्देशक लामाले दिए । आनीको चरित्रमा देखिन कपाल खौरिनुपर्ने र तीन महिना गुम्बामा बस्नुपर्ने सर्तमा जान्वी सहमत भएकी छिन् ।

तीनजना आनीमध्ये अन्य दुईलाई चाहिँ केही सातामै फाइनल गरिने भएको छ । नायकको भूमिकामा युवराजका छोरा समेत रहेका मलायम फिल्मका अभिनेता सिद्धार्थ समेत फाइनल भएका छन् ।

अभिनेता समेत रहेका विजय लामालाई पनि तय गरिएको छ । सबै कलाकार फाइनल भएपछि वर्कसप सुरु हुने जानकारी निर्देशक लामाले दिए । आनीको जीवनमाथि फिल्म निर्माण हुन लागेको हो ।

काठमाडौं वा पोखराका गुम्बामध्ये कुनै एकमा फिल्म सुटिङ गर्ने तयारी भएको छ । सबै कलाकार फाइनल भएपछि र कोरोनाको स्थितीमा सुधार आएपछि छायांकन मिति तय गरिने भएको छ ।

एक करोड बजेटमा निर्माण हुने फिल्मको ब्यानर तय गरिएको छैन । निर्देशक लामा छोरा सिद्धार्थलाई निर्माता र अभिनेताको रुपमा स्थापित गर्न चाहन्छन् र सोहीअनुसार ब्यानर बन्ने जनाइएको छ ।

यसअघिका फिल्महरु युवराजले आफ्नै ब्यानर कम्पनी त्रिपुरा सुन्दरीकै ब्यानरबाट बनाउने गरेका थिए । सन् १९८९ मा फिल्म भाग्यरेखामा कोरियोग्राफरको कामबाट करिअर थालेका लामा निर्देशित पछिल्लो फिल्म धर्मात्मा सन् २००३ अक्टोबर ३१ मा रिलिज भएको थियो ।

उनी अभिनित पछिल्लो फिल्म सन् २०१९ को सरौतो हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *