५ खेलपछि थ्री-स्टारको पहिलो जित – Nepal Press

५ खेलपछि थ्री-स्टारको पहिलो जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यो सिजन खराब प्रदर्शन गरिरहेको थ्री–स्टार क्लबले ५ खेलपछि पहिलो जित हात पारेको छ ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई २–१ गोलले हरायो ।

थ्री–स्टारका आयुष घलान र रितिक कुमार खड्काले गोल गरे । जावलाखेलका निकालोस फर्नान्डेजले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

प्रतिस्पर्धात्मक खेलको सातौं मिनेटमा आयुसले गोल गर्दै थ्री–स्टारलाई अग्रता दिलाएका थिए । उनले संजोक राईको क्रसमा बक्सको ठिक बाहिरबाट सुन्दर गोल गरेका थिए ।

रितिकले २६औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । आयुसको क्रसमा पेनाल्टी एरियाबाट उनले उत्कृष्ट फिनिसिङ गरेका थिए । ५५ औँ मिनेटमा जावलाखेलका फर्नान्डेजले गोल गरेपनि उसले फेरी गोल थप्न सकेन ।

दोस्रो हाफको इन्जुरी समयमा जावलाखेल बराबरीमा फर्कने स्थिती देखिएपनि फरवार्ड सन्तबहादुर गुरुङको क्रसमा डिफेन्डर गौरव श्रेष्ठको हेडर थ्रि–स्टारका विजय भुजेलले गोललाईनबाट क्लियर गरिदिएका थिए ।

थ्रीस्टार सात खेलबाट १० अंकसहित तालिकाको पाँचौं स्थानमा छ । पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० गोलले हराएको थ्रीस्टारले त्यसयता जित हात पार्न सकेको थिएन ।

तेस्रो खेलमा सातदोबाटो युथसँग पराजित भएको थ्रीस्टार त्यसपछि लगातार तीन खेलमा बराबरीमा रोकिएको थियो । पराजित जावलाखेल ७ खेलबाट सात अंकसहित नवौं स्थानमा छ ।

आजै दशरथ रंगशालामा हुने दोस्रो खेलमा संकटा क्लब र च्यासल युथ क्लब भिड्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर