नाटक ‘क्लेशाः’ भारत रंग महोत्सवमा छनौट, दिल्ली र उडिसामा मञ्चन हुने – Nepal Press

नाटक ‘क्लेशाः’ भारत रंग महोत्सवमा छनौट, दिल्ली र उडिसामा मञ्चन हुने

काठमाडौं । नेपाली नाटक ‘क्लेशाः’ भारत रंग महोत्सवमा छानिएको छ । विजया कार्की निर्देशित उक्त नाटकलाई नेसनल स्कुल अफ ड्रामाले आयोजना गर्ने महोत्सवमा मञ्चन गर्न लागिएको हो ।

सन् २०१९ मा नेपालमा मंचन भएको उक्त नाटकले दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । कर्मन कला समूहले निर्माण गरेको नाटकलाई प्रतीक्षा कट्टेलले लेखेकी हुन् ।

कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासका बीचमा फेब्रुअरी १ देखि २१ तारिखसम्म भारत रंग महोत्सव हुँदैछ । निर्धारित तालिका अनुसार क्लेशाः दिल्लीस्थित एनएसडीमा ७ तारिख र उडिसामा ९ तारिखमा मंचन हुने कार्यक्रम छ ।

महोत्सवमा नाटक छानिएकोबारे नेपाल प्रेससँग कुरा गर्दै निर्देशक कार्कीले मंचनको लागि आफूहरुले पूर्ण तयारी गरिरहेको बताइन् । ‘हामीलाई तयारी गर्नु भनिएको छ’ उनले भनिन्, ‘कोरोनाले रोक्नुपर्ने स्थिती आयो भने भर्चुअल पनि हुनसक्छ ।’

क्लेशाःमा सुरक्षा पन्त, कुशल पाण्डे, प्रतीक मरहठ्ठा, स्वप्निल घिमिरे, सुदीप खतिवडा लगायत १३ जना कलाकारको अभिनय छ । आधा दर्जनभन्दा बढी फिल्ममा काम गरेकी पन्तको पहिलो रंगमंच अभिनय हो ।

‘नाटकमा रामायणका प्रमुख पात्रलाई मानवीकरण गरिएको छ’ निर्देशक कार्कीले भनिन्, ‘मनुष्य जीवनका पीडाका कारक तत्वहरु के हुन् भनेर चित्रण गरेका छौं ।’

कर्मन कला समूहको पहिलो नाटकको रुपमा निर्देशक कार्की र लेखिका कट्टेलको यो पहिलो नाटक हो । समूहले कोरोना संक्रमणको स्थिती सामान्य रहे नाटकलाई पुनः नेपालमा मंचनको तयारी गरेको छ । साथै, कलाका अन्य विधाहरु फिल्म, डकुमेन्ट्री निर्माणमा पनि काम गर्ने तयारी भैरहेको कार्कीले बताइन् ।

भारत रंग महोत्सवमा १० वटा विदेशी र ७० भन्दा बढी स्वदेशी नाटक मंचन हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *