‘नेपालको मौलिक हरर फिल्मलाई विश्वले हेरोस् भन्ने हामी चाहन्छौं’ – Nepal Press
‘कठ्पुतली’सँग नेपालप्रेसको राउन्ड-टेबुल

‘नेपालको मौलिक हरर फिल्मलाई विश्वले हेरोस् भन्ने हामी चाहन्छौं’

काठमाडौं । कोरोनाको नयाँ भेरिएन्ट त्रास र ‘स्पाइडरम्यान’ तथा ‘पुष्पाा’जस्ता विदेशी फिल्मको दबदबाबीच नेपाली फिल्म ‘कठ्पुतली’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

अन्तर्राष्ट्रिय फेस्टिभलमा पुरस्कार जितेको भीमसेन लामा निर्देशित फिल्मले सार्वजनिक दुबै ट्रेलरबाट प्रशंसा बटुलेको छ । नेपाली मौलिकतामा आधारित हरर भनिएको फिल्ममा घरेलु फिल्मका चर्चित नाम सामेल छन् ।

‘कठ्पुतली’हरर भन्दा बढी राजनीतिक र सामाजिक विम्व हो । सतहमा तर्साउने दृश्य र आवाज समेटिएपनि यसले तत्कालिन राजदरबारभित्रको षड्यन्त्र, नेपथ्यमा हुने शक्तिको चलखेललाई चित्रण गरेको छ ।

एउटा एकलासको खाली घरमा पुगेका राजकुमारले कसरी अस्वभाविक गतिविधिको सामना गर्नुपर्छ र जीवित रहन उसले कस्ता संघर्ष गर्नुपर्छ भन्ने कथावस्तु कठ्पुतली हो ।

सन् २०१४ मा बेलायती सैनिकको जागिर छाडेर फिल्म बनाउन होमिएका निर्देशक लामाले हरर तत्वमार्फत नेपाली गौरव, संस्कृति र इतिहासलाई चित्रण गर्न प्रयास गरेको बताए ।

उनले भने, ‘यो एउटा सर्भाइभल स्टोरी हो । एउटा परिवारको कथा हो । यसलाई म अर्गानिक र सांस्कृतिक कथा भन्न रुचाउँछु ।’ दरबारसँग जोडिएको नेपालको इतिहासबारे युवापुस्तालाई जानकारी गराउन पनि कठ्पुतली सान्दर्भिक हुने निर्देशक लामाले बताए ।

निर्देशकका अनुसार हररलाई विम्वात्मकरुपमा प्रयोग गरिएको छ । ‘यो एउटा फेमिली इमोसनको कथा हो । हररलाई विम्वको रुपमा प्रयोग गरिएको हो’ लामाले सुनाए ।

अभिनेत्री उषा रजक (बायाँ) र निर्देशक भीमसेन लामा ।

नेपालको मौलिक हरर फिल्म

नेपालमा यसअघि हरर जानरामा फिल्म निर्माण नभएका होइनन् । ती फिल्मभन्दा कठ्पुतली कुन अर्थमा भिन्न छ भन्दा यो फिल्म लाउड छैन र समाजसँग जोडिएको छ ।

२ करोडभन्दा बढी लागतमा निर्माण भएको फिल्मलाई निर्देशक लामा ‘रिच’ भन्न रुचाउँछन् । ‘थोरै बजेट भएपनि कथामा फिल्म सम्पन्न छ’ लामा भन्छन्, ‘हामीले सकेसम्म दर्शक र अहिलेको पुस्तालाई जोड्ने प्रयत्न गरेका छौं ।’

पटकथा लेखक सम्पदा मल्ल कठ्पुतलीलाई नेपालको मौलिक कथामा आधारित हरर भन्न रुचाउँछिन् । ‘म आफै हररको दर्शक होइन । निर्देशकज्यूले च्यालेन्ज दिएपछि मैले भ्याएसम्म विश्वका सबै हरर फिल्म हेरेँ’ मल्ल भन्छिन्, ‘आजको पुस्ताको नेपाली दर्शकलाई मात्र हैन, नेपालको मौलिक हरर फिल्म विश्वले हेरोस् भन्ने लागेर कथा लेखेकी हुँ ।’

सम्पदा फिल्मलाई बिग बजेटकै भन्न रुचाउँछिन् । ‘वास्तवमा पिरियोडिक ड्रामा खिच्नु निकै कठिन कार्य हो’ भन्छिन्, ‘त्यो समयको दरबार खिच्नको लागि हामीले बालमन्दिरमा छायांकन गरेका छौं र सोहीअनुसारको दृश्य निर्माण गर्न खर्च पनि भएको छ ।’

निर्माता पृथ्वी रानामगर (बायाँ) र अभिनेत्री मिथिला शर्मा ।

कलाकारहरु के भन्छन् ?

कठ्पुतलीमा पछिल्लो छिमलका चर्चित कलाकारको दबदबा छ । मिथिला शर्मा र गौरी मल्लदेखि पछिल्लो समयका शिल्पा मास्के र उषा रजकसम्म अटाएका छन् । युवराजको भूमिकामा कार्मको सशक्त अभिनय ट्रेलरमै देख्न सकिन्छ ।

मंगलबार राजधानीमा नेपाल प्रेससँग कुरा गर्दै कलाकारले ‘कठ्पुतली’ संवाद गरे । अभिनेत्री उषा रजक फिल्ममा नेवारी युवतीको भूमिकामा छिन् । सन् २०११ मा राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को कामको सिलसिलामा किर्गिस्तान जाँदा फिल्मका केही सदस्यसँग भेट भएको र सोही बेला यसबारे कुरा भएको अनुभव उनले सुनाइन् ।

फिल्म खेल्नेकै लागि सन् २०१९ मा युएनडीपीको आकर्षक जागिर छाडेकी रजकको अभिनय छोटो ट्रेलरमै महसुस गर्न सकिन्छ । उनले फिल्ममा कार्मसँग स्क्रिन सेयर गरेकी छिन् । ‘म यसलाई नारी सशक्तीकरणको सन्देश दिने फिल्मको रुपमा पनि यसलाई लिन्छु’ रजक सुनिइन् ।

अभिनेत्री शर्माले अहिलेको नेपाली पुस्तापनि तत्कालिन दरबारको इतिहाससँग जोडिने बताइन् । ‘नेपाली पुस्ता पछिल्लो समय निकै प्राविधिक बनिरहेको छ तर, उसलाई आफ्नै इतिहास थाहा छैन’ उनले भनिन्, ‘फिल्म हेरेपछि नेपाली पुस्ता समाज र इतिहाससँग जोडिने आशा लिएकी छु ।’

अभिनेत्री शिल्पा मास्केले छोटो तर अर्थपूर्ण चरित्र फिल्ममा रहेको बताइन् । आफ्नो करिअरको लागि कठ्पुतली महत्वपूर्ण हुने बताउँदै शिल्पाले युवापुस्ताले फिल्म हेर्नुपर्ने बताइन् ।

पटकथा लेखक तथा कार्यकारी निर्मात्री सम्पदा मल्ल (बायाँ) र अभिनेत्री शिल्पा मास्के ।

‘विदेशबाटै लगानी उठाउँछौं’

फिल्मको व्यवसायिक र समीक्षात्मक सफलता मिल्नेमा निर्माता पृथ्वी रानामगर ढुक्क छन् । लामो समयदेखि हङकङमा बस्दै आइरहेका उनी मौलिक र स्तरीय नेपाली फिल्म बनाउने आफ्नो धोको पुरा भएको बताउँछन् ।

फिल्म निर्माणमा २.३ करोड रुपैयाँ खर्च भएको जानकारी दिँदै उनले कथाले मागेजति खर्च गरिएको बताए । ‘हामीले गुणस्तरसँग सम्झौता गरेका छैनौं’ उनले भने, ‘लगानी उठ्नेमा किन पनि ढुक्क छु भने, कोरोना महामारी साम्य भएपछि हामीले विदेशमा पनि प्रदर्शन गर्ने योजना बनाएका छौं ।’

आफूले हङकङबाट ५० लाख र निर्देशक समेत रहेका लामाले बेलायतबाट ५० लाख उठाएर लगानी सुनिश्चित गर्ने योजना बनाएको उनले बताए । ‘हङकङ र यूके नेपाली फिल्मका लागि ठूला बजार हुन्’ उनी सुनिए, ‘कोरोना महामारी सामान्य भए विदेशी बजारमा फिल्म देखाउने हाम्रो योजना छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *