अंग्रेजी नयाँवर्षदेखि नेपालमा जापानी फिल्म रिलिज हुँदै – Nepal Press

अंग्रेजी नयाँवर्षदेखि नेपालमा जापानी फिल्म रिलिज हुँदै

काठमाडौं । सन् २०२२ सुरु भएसँगै नेपालमा पहिलोपटक जापानी फिल्मको व्यवसायिक रिलिज हुने भएको छ । एप्पल इन्टरटेनमेन्टले आगामी पुस ३० गते (जनवरी १४) मा जापानी फिल्म ‘माइ हिरो अकाडेमिया : वर्ल्ड हिरोज् मिसन’लाई रिलिज गर्न लागेको हो ।

सोमबार फिल्म रिलिजको घोषणा गर्दै एप्पलका रुबेन श्रेष्ठले नेपाल प्रेसलाई भने, ‘हामी नेपालमा नयाँ बजारको खोजी गर्न चाहन्छौं र दर्शकलाई नयाँ स्वाद दिन चाहन्छौं ।’

नेपालमा पछिल्लो समय जापानी फिल्म र सिरिजका दर्शक र उनीहरुको बढ्दो चाहनालाई मध्यनजर गरेर फिल्मलाई हलमै रिलिज गर्न लागिएको हो । जापानी भाषा र अंग्रेजी सबटाइटलमा रिलिज हुने उक्त फिल्मलाई दर्शकले रुचाउने आशा लिइएको छ ।

उक्त जापानी एनिमेटेड र सुपरहिरो फिल्मलाई केन्जी नागासाकीले निर्देशन गरेका हुन् । ‘माइ हिरो अकाडेमिया मांगा’ सिरिजकै फिल्म रहेको पछिल्लो फिल्म सुपरहिरोको कथामा आधारित छ ।

जापानी फिल्म स्टारहरु दाइकी यामासिता, नोबुहिको ओकामातो र युकी काजीले मुख्य पात्रमा स्वर दिएका छन् । आतंकवादी योजनालाई रोकेर मानवता जोगाउन देकु नाम सुपरहिरो र उसका साथीहरुले गर्ने संघर्ष फिल्मको कथावस्तु हो ।

अमेरिका, क्यानडासहितका केही अन्तर्राष्ट्रिय बजारमा रिलिज भएको फिल्मले अहिलेसम्म ४१ मिलियन डलरभन्दा बढीको कमाइ गरेको छ । समीक्षकले समेत यसलाई रुचाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *