प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनबीच एकता – Nepal Press

प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनबीच एकता

जनपक्षीय पत्रकारितामा क्रियाशील हुन ध्रुविकरण हुनुपर्नेमा संगठन एकमत

काठमाडौं । प्रेस सेन्टर नेपाल र क्रान्तिकारी पत्रकार संगठन नेपालविच एकता भएको छ । नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष उपस्थितिमा एक औपचारिक समारोहकाविच दुई संगठनविच एकता घोषणा भएको हो ।

एकता घाेषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कहि न कहि पार्टीले कमजोरी गरेकै कारण विभिन्न समस्या आएको स्मरण गर्दै ढिलै भए पनि क्रान्त्रिकारी पत्रकार संगठन ध्रुविकरणको बाटोमा आएको खुसी व्यक्त गरे । उनले आफ्नो पार्टी र नेतृत्वले गरेका गल्ति कमजोरी भोलिदेखि सुरु हुन लागेको सम्मेलनमा समिक्षा गरिने बताए ।

उनले भने,‘भोलिदेखि सुरु हुन लागेको सम्मेलनमा आफ्नो पार्टीमा भए गरेका गल्ति कमजोरीको हामी घनिभुत रुपमा समिक्षा गर्छौ । कहाँनिर बिचारमा, कहा विधि र कहाँ प्रक्रियामा हामीले त्रुटी गर्यौ त्यसको आत्मसमिक्षा गर्छौ । आत्मसमिक्षा म आफैबाट सुरु गर्दैछु ।’

कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका पूर्व अध्यक्षसमेत रहेका संगठनका सल्लाहकार प्रभात चलाउनेले नेतृत्व र एजेण्डा तुहिन्छ कि भनेर क्रान्तिकारी पार्टीलाई साथ समर्थन गरे पनि सबै शक्तिलाई एकै ठाउँमा नल्याएर आन्दोलनको सपना पुरा नहुने निष्कर्षसहित एकताको पक्षमा उभिएको बताए । जनयुद्धले स्थापित गरेको एजेण्डालाई पुर्णता दिनका लागि छुट्टीएर तथा एक्लिएर नभई सँगै गएर मात्र सम्भव हुने निष्कर्षसहित ध्रुविकरणको पक्षमा उभिएको बताए ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका सल्लाहकार एवम संगठनका पूर्व उपाध्यक्ष दिपेन्द्र रावलले दुवै संगठनले संयुक्त रुपमा जारी गरेको विज्ञप्ती पढेर सुनाएका थिए । उनले बैज्ञानिक समाजवादी आन्दोलनमा लाग्ने गरी प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठन एकता गर्न सहमत भएको बताए ।

एकता कार्यक्रम सम्पन्न भएलगत्तै प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ र क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष दिपबहादुर घर्तीद्धारा संयुक्त रुपमा हस्ताक्षरित तीन बुदेँ विज्ञप्ती सार्वजनिक गरिएको छ ।

नेपालको जनपक्षीय पत्रकारिता र परिवर्तनकारी आन्दोलन लगायतका सम्बन्धमा दुवै संगठनको समान धारणा रहेको, जनपक्षीय पत्रकारितामा क्रियाशील पत्रकार संघ, संगठनको धु्रवीकरण हुनुपर्नेमा दुवै संगठन एकमत भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । ध्रुवीकरणको अभियानमा सहभागी हुन जनपक्षीय पत्रकारितामा क्रियाशील सबै संघ संगठन र सञ्चारकर्मीलाई संयुक्त रुपमा विज्ञप्तीमार्फत नै आग्रह पनि गरिएको छ ।

प्रेस सेन्टर नेपाल नेकपा (माओवादी केन्द्र) निटक पत्रकार संगठन हो भने क्रान्तिकारी पत्रकार संगठन नेत्रविक्रम चन्द्र ‘विप्लव’ले नेतृत्व गरेको नेकपा निकट पत्रकार संगठन हो । तर विगत ४ वर्षदेखि भने समानान्तर अभ्यास गर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *