तरलतामा सुधार देखिन थाल्यो, अर्थतन्त्र पुनरुत्थानतर्फ गएको राष्ट्रबैंकको दावी – Nepal Press

तरलतामा सुधार देखिन थाल्यो, अर्थतन्त्र पुनरुत्थानतर्फ गएको राष्ट्रबैंकको दावी

काठमाडौं । पछिल्लो सयम बैंकिङ प्रणालीमा उत्पन्न भएको तरलता समस्या समाधानको दिशामा देखिएको छ । पुस महिना सुरु भएयता कर्जाभन्दा निक्षेप ४ गुणाबढी थपिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक साता २७ अर्ब निक्षेप जम्मा हुँदा ७ अर्ब मात्रै कर्जा प्रवाह भएको हो । मंसिर महिनामा बैंकसँग तरलता अभाव भएकाले कर्जाका लागि आएका ८० प्रतिशतसम्म प्रस्तावहरु फिर्ता भएका थिए ।

राष्ट्र बैंकले आर्थिक पत्रकारहरुसँग गरेको अन्तरक्रियामा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले पुस १ गतेदेखि निक्षेप संकलन बढेको जानकारी दिए ।

उनले भने – अब कर्जा प्रवाहभन्दा धेरै निक्षेप संकलन हुन थालेको भएको छ । यसले आगामी दिनमा तरलता सहज हुँदै जान्छ ।

अर्थतन्त्र पहिलेकै अवस्थामा जाने क्रममा रहेकाले आयात वृद्धि भएको र यही कारण कर्जाको माग पछिल्लो समय बढेको उनको तर्क छ ।

नेपाल राष्ट्र बैंकले तरलता समस्या सम्बोधन गर्न तथा शोधनान्तर घाटा घटाउन क्रियाशील भएर लागेको बताउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको पुस ५ गतेसम्म स्थायी तरलता सुविधामार्फत २५०० अर्ब, ओभरनाइट रिपोबाट ६९ अर्ब, रिपोमार्फत २२० अर्ब र सोझै खरिद गरेर २७ अर्ब प्रवाह भएको जानकारी दिए ।

‘वि.सं २०७९ असारसम्म कर्जा–निक्षेप अनुपात ९० प्रतिशत राख्नुपर्ने व्यवस्था गरिएको छ भने चालु आवमा आजसम्म पुनर्कर्जा सुविधा ९२ अर्ब स्वीकृत भइसकेको छ,’ उनले भने ।

चाँदी आयातकालागि विदेशी मुद्रा उपलब्धताको सीमा तोकिएको, वैदेशिक रोजगारीमा रहेकाहरूलाई बैंक खातामा एक प्रतिशत थप ब्याज दिइएको, केही वस्तुको आयातमा शतप्रतिशत नगद ‘मार्जिन’को व्यवस्था गरिएको जानकारी गभर्नर अधिकारीले दिए ।

गैरआवासीय नेपालीहरू सम्बद्ध संस्थाहरूले विदेशी मुद्रामा वचत तथा मुद्दति खाता खोल्न पाउने प्रवन्ध, वैदेशिक रोजगारीमा जाने कामदारलाई सटही गर्न पाउने नगद विदेशी मुद्रामा कटौती, अवैधरूपमा भइरहेको सुनको आयात नियन्त्रण तथा अन्तर्राष्ट्रिय मुद्राकोषसँग विस्तारित कर्जा सुविधा स्वीकृत हुने चरणमा रहेको उनले बताए ।

कोभिड–१९ संक्रमणबाट देश पूर्णरूपमा मुक्त भइनसकेको वर्तमान परिस्थितिमा पनि अर्थतन्त्र पुनरुत्थान उन्मुख भएको राष्ट्र बैंकको दावी छ ।

पुनरुत्थानकै क्रममा आयात र कर्जा वृद्धिदर उच्च भएको तथा विप्रेषण आप्रवाह नबढ्दा चालु खाता घाटा र शोधनान्तर घाटाको स्थिति उत्पन्न भई विदेशी विनिमय सञ्चिति घट्दै गएको यथार्थ गभर्नरले प्रस्तुत गरे ।

‘निक्षेपको वृद्धिदर कोभिडपूर्वको अवस्थामा रहे पनि कर्जाको वृद्धिदरभन्दा कम रहेकाले तरलता अभावको अवस्था आएको हो,’ राष्ट्रको वर्तमान आर्थिक अवस्थाको चिरफार गर्दै उनले भने, ‘निर्यात कमजोर र आयातमा निर्भरता बढिरहेको सन्दर्भमा तरलता समस्या नेपालको अर्थतन्त्रमा दोहोरिने गरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *