आइकोरले नेपालमा विदेशी फिल्मको वितरण थाल्यो : शुक्रबार ‘म्याट्रिक्स’ श्रृंखला रिलिज हुँदै – Nepal Press

आइकोरले नेपालमा विदेशी फिल्मको वितरण थाल्यो : शुक्रबार ‘म्याट्रिक्स’ श्रृंखला रिलिज हुँदै

काठमाडौं । मुलुकको अग्रणी फिल्म निर्माण कम्पनी आइकोर फिल्म्सले विदेशी फिल्म वितरणको थालनी गरेको छ । कम्पनीको वितरण रहने हलिउड फिल्म ‘द म्याट्रिक्स रिसुरेक्सन’ शुक्रबारदेखि मुलुकका प्रमुख मल्टिप्लेक्समा प्रदर्शनमा आउने भएको छ ।

कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै फिल्मको वितरण सुरु भएको जानकारी दिएको छ । हलिउडको म्याट्रिक्स सिरिजकै पछिल्लो श्रृंखला रहेको फिल्मको प्रमुख भूमिकामा किनु रिभ्स र क्यारी एने मोस छन् । श्रृंखलाको पछिल्लो फिल्म द म्याट्रिक्स रिभोलुसन सन् २००३ मा रिलिज भएको थियो ।

व्यवसायिकरुपमा हिट नेपाली फिल्महरु मेरो लभस्टोरी, मेरो एउटा साथी छ, इन्टुमिन्टु लन्डनमा निर्माण गरेको आइकोरले वान सिनेमाज् मल्टिप्लेक्समार्फत प्रदर्शनमा हात हालेसँगै वितरणलाई पनि अघि बढाएको हो ।

साथै, आइकोरले भेनिस र टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर गरिएको र अवार्ड जितेको चर्चित छोटो फिल्म दाद्या पनि निर्माण गरेको थियो । आइकोरकै फिल्म ‘आइएम ट्वान्टीवान’ रिलिज तयारीमा छ ।

आइकोर प्रालि तथा वान सिनेमाज् निर्देशक प्रज्वल जबराले म्याट्रिक्स सिरिज आफ्नो मनपर्ने साइन्स फिक्सन भएको र चौंथो श्रृंखलाले सम्बन्धित फिल्मको जनराको स्वाद दिने तथा दर्शकलाई नोस्टाल्जिक (विगतलाई लिएर भावुक तुल्याउने) बनाउने बताए ।

साइन्स फिक्सन, एक्सन र एड्भेन्चर जनरामा राखिएको फिल्मलाई लाना वाचाओक्सीले निर्देशन गरेकी हुन् । फिल्मबारे आइकोरले जारी गरेको विज्ञप्तिमा निर्देशक लानाले भनेकी छिन्, ‘धेरैका लागि कला ऐन हो र धेरैजना सतहमै देखिने कुरामा रमाउन खोज्छन् । तर, केही मानिस यस्ता हुन्छन् जो ऐना पछाडिको कुरामा रमाउन चाहन्छन् । मैले उनीहरुको लागि यो फिल्म बनाएकी हुँ ।’

हलिउडमा पछिल्लो समय भिजिनरी निर्देशक मानिने लाना निर्देशित यो फिल्मको मुख्य भूमिकामा रहेका कलाकारहरु रिभ्स र मोस क्रमशः दुई चर्चित पात्रहरु नियो र ट्रिनिटीको भूमिकामा देखिएका छन् ।

वार्नर ब्रोज पिक्चर्स स्टुडियोको प्रस्तुति रहेको फिल्मलाई भिलेज रोड सो पिक्चर्सले निर्माण गरेको हो । पछिल्लो समय हलिउड फिल्म स्पाइडरम्यान ः नो वे होमले नेपाली बक्सअफिसमा उछाल कमाइ गरिरहेको बेला रिलिज हुन लागेको द म्याट्रिक्स रिसुरेक्सनलाई पनि दर्शकले रुचाउने आशा आइकोरले लिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *