पनामा पेपर्स प्रकरण : ऐश्वर्यासँग दुईघण्टा सोधपुछ, अमिताभलाई बयानमा बोलाउने तयारी – Nepal Press

पनामा पेपर्स प्रकरण : ऐश्वर्यासँग दुईघण्टा सोधपुछ, अमिताभलाई बयानमा बोलाउने तयारी

काठमाडौं । बहुचर्चित पनामा पेपर्स प्रकरणमा बलिउडको अमिताभ बच्चन परिवारलाई मुस्किल पर्ने देखिएको छ । यो प्रकरणमा बच्चन बुहारी अर्थात अभिनेत्री ऐश्वर्या रायलाई इन्फोर्समेन्ट डिरेक्टरिए (ईडी)ले दुई घण्टा सोधपुछ गरेको छ ।

४८ वर्षिया अभिनेत्रीले ब्रिटिस भर्जिन आइल्यान्डमा सम्पत्ति लुकाएको आरोप ईडीले लगाएको छ । ईडीले यसअघि दुईपटक ऐश्वर्यालाई बयानका लागि बोलाएको थियो तर, उनले केही समय माग्दै टारेकी थिइन् ।

पनामा पेपर्समा भारतका ५०० जनाको नाम मुछिएको थियो । जसमा नेता, अभिनेता, खेलाडी, व्यापारीसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको नाम समेत सामेल छ । यी व्यक्तिहरुलाई कर छलेको आरोप लगाइएको छ । यो आरोपको प्रमाण जुटाउन ईडी लागिपरेको हो ।

ईडीले सन् २०१७ देखि यस घटनामा छानविन गरिरहेको छ । एक महिना पहिले अभिषेक बच्चनलाई पनि ईडीले सोधपुछ गरेको थियो । स्रोतका अनुसार यो प्रकरणमा सोधपुछका लागि अमिताभ बच्चनलाई पनि बोलाउने तयारी भएको छ ।

सन् २०१६ मा बेलायतमा एक पनामा ल फर्मका १.१५ करोड कागज लिक्ड भएका थिए । भारतबाट ५०० जनाको नाम यसमा सामेल थियो जसमा बच्चन परिवारको नाम पनि सामेल थियो । यो रिपोर्टका अनुसार अमिताभ बच्चनलाई चार कम्पनीको निर्देशक बनाइएको थियो ।

जसमध्ये तीन कम्पनी बहमासमा थिए । एउटा चाहिँ भर्जिन आइल्यान्डमा थियो । यी कम्पनीको पूँजी ५ हजारदेखि ५० हजार डलरको बीचमा थियो । ऐश्वर्यालाई यसअघि पनि एक कम्पनीको निर्देशक बनाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *