माओवादीको वागमती प्रदेश समिति सदस्यले लिए सपथ, नेतृत्व छान्न निर्वाचनको तयारी (तस्बिरहरु)
काठमाडौं। नेकपा (माओवादी) केन्द्रको वागमती प्रदेश समितिका सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार काठमाडौंको अनुपम फुडल्याण्डमा आयोजित कार्यक्रममा उनीहरुले सपथ लिएका हुन्।
गत मंसिर २५ मा प्रदेश सम्मलेन उद्घाटन भएको थियो । सम्मेलनबाट २७५ सदस्यीय प्रदेश समिति चयन भए पनि नेतृत्वमा सहमति जुट्न नसक्दा पदाधिकारीविनै सदस्यहरुले समथ लिएका हुन्।
मुख्यगरि अध्यक्षमा सहमति हुन नसक्दा निर्वाचनबाटै पदाधिकारीको चयन गर्ने तयारी भइरहेको छ।
माओवादीको अन्तरिम विधानमा सम्मेलन प्रतिनिधिले समिति चयन गर्ने र समितिले पदाधिकारी चयन गर्ने व्यवस्था छ। त्यसै अनुसार प्रदेश समितिका २७५ सदस्यले पदाधिकारी चयन गर्नेछन् ।
वागमती प्रदेश अध्यक्षका लागि सुरुमा धेरै दावेदार भए पनि अहिले दुई जना रहेका छन् । सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल र काभ्रेका दिनानाथ गौतम अन्तिम समयसम्म पनि पछि नहटेपछि चुनाव हुने भएको हो । निर्वाचनका लागि अहिले मतदाताको नामावली समेत प्रकाशित गरिएको छ ।
सरल सहयात्री पनि माओवादीका स्थापित युवा नेता हुन् । जनयुद्धकालमा ब्रिगेड कमाण्डर रहेका उनी सेना समायोजनपछि पार्टी राजनीतिमा स्थापित भएका हुन् । उनी २०७० सालको निर्वाचनमा पराजित भएका थिए। उनी माओवादीको सांस्कृतिक संगठनका अध्यक्ष पनि हुन् ।
त्यस्तै अध्यक्षका अर्का दाबेदार दिनानाथ गौतम जनयुद्धकालका पूराना नेता हुन् । गौतम हाल काभ्रेको चौँरी देउराली गाउँपालिकाका अध्यक्ष छन् ।
तस्बिरहरु : सराेज बैजु