२२ वर्षपछि जनकपुर चुरोट कारखाना ब्युँताइँदै, समिति बनाएर काम सुरू – Nepal Press

२२ वर्षपछि जनकपुर चुरोट कारखाना ब्युँताइँदै, समिति बनाएर काम सुरू

काठमाडौं । २२ वर्षदेखि बन्द सरकारी स्वामित्वको कम्पनी जनकपुर चुरोट कारखाना (जचुकाली) पुन: संचालनमा ल्याइने भएको छ । त्यसका लागि आवश्यक अध्ययन गर्न अर्थमन्त्रालयले समिति बनाएको छ ।

कारखाना संचालनका लागि अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेको उद्योग मन्त्रालय, सरकारी उद्योग तथा संस्थान शाखाका प्रमुख गिरीराज ज्ञवालीले जानकारी दिए । पूरै बन्द गर्ने की पुन: चलाउने भन्ने निर्णय समितिले दुनुपर्ने भए पनि अर्थमन्त्रालय सकारात्मक भएकाले ब्युँताउन लागिएको उनको भनाइ छ ।

उद्योग मन्त्रालयकी सहसचिव चन्द्राकला पौडेलको संयोजकत्वमा रमेश केशी सदस्य र गगनबहादुर विश्वकर्मा सदस्यसचिव रहने गरी अध्ययन समिति गठन गरिएको छ । समितिले तत्काल संचालन गर्न अध्ययन गर्ने र त्यसका लागि अनुमानित लागतसमेत तयार पार्नेछ ।

यस कारखानाबाट सुरूमा वार्षिक २ अर्ब खिल्ली चुरोटको उत्पादन गरिन्थ्यो । विशेषगरी देउराली, याक र गैँडा उत्पादन गर्ने यस कारखानामा सुरूआतमा ३ सय ६६ जनाले रोजगारी पाएका थिए ।

यही पुस २५ गते कम्पनीको साधारणसभा बोलाइएको छ । संचालक समितिको पुस २ गतेको बैठकले २०५६/०५७ देखि आर्थिक वर्ष २०७६/०७७ सम्मको विषयहरू पारित गर्ने र नयाँ विषयहरू पारित गर्न साधारणसभा आव्हान गरिएको कम्पनीका लागि मन्त्रालयले तोकेको प्रतिनिधि लीलाराज काफ्लेले नेपाल प्रेसलाई बताए ।

साधारणसभापछि कम्पनी अद्यावधिक गरी काम अघि बढाइने समेत उनको भनाइ छ । हाल अध्यक्ष/महाप्रबन्धक दुवैको जिम्मेवारी सरकारले सहसचिव चन्द्राकला पौडेललाई तोकिएको छ ।

२०५७ सालबाट चुरोटको उत्पादन बन्द भएपछि सात वर्षसम्म सरकारले कर्मचारीलाई सेवासुविधा दिँदै आएको थियो । त्यसपछि बन्द छ । अझैपनि व्यापारीहरूको धरौटी फिर्ता दिनु पर्ने र बजारबाट चुरोट बिक्रीको रकम उठ्न बाँकी रहेको काफ्लेले बताए । कामबिनाका कर्मचारीलाई पाल्न राज्यलाई भार हुने भन्दै सरकारले २०७० सालमा कारखाना तत्काललाई बन्द गर्ने निर्णय गरेको थियो ।

अर्थमन्त्रालयको तथ्यांकअनुसार २०७४ सालसम्म कम्पनीलाई दुई अर्ब ९१ करोड २६ लाख ३७ हजार ७७ रूपैयाँ नोक्सानी भएको छ । जनकपुर चुरोट कारखाना लिमिटेडको सञ्चालन एवं व्यवस्थापन सुधार गर्न सरकारले सहसचिव रमेश स्थापितको संयोजकत्वमा २०६८ साउन २२ गते अध्ययन कार्य टोली गठन गर्‍यो । तर, कार्यान्वयन भएन । तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पनि कम्पनी ब्युँताउने निर्णय गरेका थिए ।

कारखानाको आठ अर्बभन्दा बढी सम्पत्ति छ । हाल कारखानासँगै रहेको ३३ बिघा ९ कठ्ठा जग्गा र भौतिक संरचना जिल्ला प्रशासन कार्यालय, धनुषाको मातहत सारिएको छ ।

सोभियत संघको अनुदान तथा तत्कालीन अर्थमन्त्री रामनारायण मिश्रको प्रयासबाट २०१७ सालमा जनकपुर चुरोट कारखाना लिमिटेड स्थापना गरिएको थियो । २०२१ साल पुस २९ गते तत्कालीन राजा महेन्द्रले यसको उद्घाटन गरेका थिए ।

यस कारखानाबाट सुरूमा वार्षिक २ अर्ब खिल्ली चुरोटको उत्पादन गरिन्थ्यो । विशेषगरी देउराली, याक र गैँडा उत्पादन गर्ने यस कारखानामा सुरूआतमा ३ सय ६६ जनाले रोजगारी पाएका थिए ।

बजार माग बढेसँगै २०४४ सालमा उत्पादन बढेसँगै कर्मचारी संख्या थपेर ४ हजार ७०० पुर्‍याइएको थियो । तर, २०४६ सालपछि राजनीतिक हस्तक्षेप बढेसँगै कारखाना घाटातर्फ जान थाल्यो ।

कारखानाको आठ अर्बभन्दा बढी सम्पत्ति छ । हाल कारखानासँगै रहेको ३३ बिघा ९ कठ्ठा जग्गा र भौतिक संरचना जिल्ला प्रशासन कार्यालय, धनुषाको मातहत सारिएको छ ।

उद्योगमन्त्रालयका अनुसार धनुषा, महोत्तरी, विराटनगर, उदयपुर, वीरगन्ज, पोखरा, नारायणघाट, नेपालगन्ज, सुर्खेत, दीपायल, सिन्धुली र धनगढीलगायत नेपालभर २६ स्थानमा रहेका कारखानाको अर्बौंको सम्पत्ति बेवारिसे अवस्थामा छ ।

वार्षिक साधारणसभासम्बन्धी जचुकालीको सूचना:

प्रतिक्रिया

One thought on “२२ वर्षपछि जनकपुर चुरोट कारखाना ब्युँताइँदै, समिति बनाएर काम सुरू

  1. उद्याेग चलाउन पैसा जम्मा गर्ने भनेर यसकाे जग्गा र सम्पत्ति बेच्दा कमिशन खान र धराैटी फिर्ताकाे नाममा व्यापारीलाई ढुकुटीकाे पैसा फिर्ता दिने भनेर पैसा बाँडेर खान याे फण्डा ल्याईदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *