कभर गीतबाट चम्केकी ईशा अब आफ्नै सिर्जनातिर – Nepal Press

कभर गीतबाट चम्केकी ईशा अब आफ्नै सिर्जनातिर

काठमाडौं । पछिल्लो समय कभर गायनमा नेपाली तन्नेरीको आकर्षण लोभलाग्दो देखिन्छ । युट्युव र टीकटकजस्ता भिडियो साझेदारी प्लेटफर्मले कभर गायनको रुचिलार्ई आकार दिइरहेका छन् ।

यो रुचिलाई आत्मसात गर्दै गायनमा भविष्य खोज्ने तन्नेरीको संख्यामा वृद्धि भैरहेको छ । धरानकी २३ वर्षिया ठिटी इशा तामाङ यस्तै रुचि पाल्ने कभर गीत गायिका हुन् जसले २५ वटा चर्चित गीतमा कभर गाएकी छिन् ।

अब भने इशालाई आफ्नै सिर्जनामा गीत रिलिज गर्नुछ । यसका लागि उनी अहिले गीत रेकर्डको तयारीमा छिन् । सम्भवतः आगामी एक महिनाभित्र इशाले पहिलोपटक आफ्नै सिर्जना र आवाजमा ‘बनिदेऊ मेरो’ गीत इन्टरनेट रिलिज गर्नेछिन् ।

पवन भट्टराई र जेसन योञ्जनको संगीतमा इशाले गीत रेकर्ड गर्न लागेकी हुन् । गीतको स्थायी पनि मीठो छ :

आज लाखौं ताराको बीच छु
तर, एउटै जुनको कमी छ
शीतल किरण बनिदेऊ मेरो…’

इशा यो गीतलाई सेमी-क्लासिकल स्वादको भन्न रुचाउँछिन् । यो स्वाद उनको मनपर्ने सांगीतिक जनरा पनि हो । ‘म आफूलाई कम्फर्ट जनरामा गाउन रुचि राख्छु’ हालैको एक चिसो दिउँसो नेपाल प्रेसको पटांगिनीमा तातो कफी पिउँदै इशा सुनिइन्, ‘म मेरा गीतहरुमा जीवन, प्रेम र सम्बन्धलाई सेलिव्रेट गर्न चाहन्छु । मलाई लाग्छ, त्यो गीतलाई दर्शक एवं श्रोताले रुचाउनुहुनेछ ।’

हुन त, सन् २०१९ मा इशाले अभया सुब्बाको चर्चित गीत ‘हावाहुरी’माथि कभर गायन गरेकी हुन् । एक किसिमले यो उनको डेब्यु गायन थियो । नेपाली रक स्टारमाथि इशाले गीत गाउनु र यसले उनलाई प्रेरणा प्रदान गर्नु पछाडि नै हुनसक्छ उनको गायन यात्राको हुटहुटी ।

गृहनगर धरानमा भएको कन्सर्टमा अभयालाई पहिलोपटक भेटेकी इशाले उनकै गीतबाट गायनको प्रेरणा जागेको बताइन् । ‘त्यो वुमन कन्सर्ट थियो र म आफैले भाग लिएकी थिएँ । उहाँलाई नजिकबाट चिन्ने मौका पाएँ’ इशाले नेपाल प्रेसलाई भनिन् ।

तर, उनको हिट कभर गायन चाहिँ कालजयी गायक भक्तराज आचार्यको ‘हजार आँखा हेर्ने’ रह्यो । यो गीतबाट उनले निकै प्रशंसा बटुलिन् । युट्युव र टीकटकबाट इशालाई मीठो दर्शकीय प्रतिक्रिया मिल्यो ।

गायनमा भविष्यको राजमार्ग कोर्न चाहने नयाँ तन्नेरीहरुप्रति नेपाली समाज र परिवारको सहयोग कस्तो छ ? यसलाई लिएर इशाका आफ्नै भोगाइ छन् । उनलाई पनि लाइभ म्युजिक गर्न लाग्छ, उनलाई पनि पुरुष समकक्षीजस्तै सार्वजनिक ठाउँमा प्रस्तुति दिन मन लाग्छ र अबेरसम्म गीतमा डुब्न मन लाग्छ ।

तर, एउटै कुराको डर छ : बत्तमिज ।

उनले कभर र लाइभ म्युजिक गायनको दौरनामा यस्ता कैंयन बत्तमिज हर्कत भोगेकी छिन् । ‘तर, मलाई परिवारको सपोर्ट छ र त अघि बढिरहेकी छु’ उनी आशावादी सुनिइन् । यस्तो लाग्छ, इशा गायनमा भविष्य बनाउन चाहने पछिल्ला नेपाली युवतीहरुकी एक प्रतिनिधि पात्र हुन् जो समाजका यिनै बत्तमिज तत्वहरुसँग संघर्ष गरिरहेकी छिन् ।

इशाको गायन यात्रा बल्ल त सुरु भएको छ । ब्यापारकी विद्यार्थी अहिले म्युजिक करिअर बनाउन काठमाडौं खाल्डोमा आइपुगेकी छिन् । ब्यापार र संगीतका दुईवटा डुंगालाई कसरी सन्तुलन मिलाएर उनी अघि बढ्लिन् ? इशाको सामु यो मिलियन डलरको प्रश्न समेत हो ।

जेहोस्, आउने एक महिनामै हामीले इशाको डेब्यु गीत सुन्न पाउँनेछौं । उनकै रोमान्टिक आवाजमा :

‘आज लाखौं ताराको बीच छु
तर, एउटै जुनको कमी छ
शीतल किरण बनिदेऊ मेरो…’

प्रतिक्रिया

One thought on “कभर गीतबाट चम्केकी ईशा अब आफ्नै सिर्जनातिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *