आईसीटी अवार्डअन्तर्गत १२ विधालाई पुरस्कार – Nepal Press

आईसीटी अवार्डअन्तर्गत १२ विधालाई पुरस्कार

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ‘आईसीटी अवार्ड २०२१’ अन्तर्गत १२ विधामा अवार्ड प्रदान गरिएको छ ।

लिभिङ विथ आईसिटीले आयोजना गरेको छैठौं संस्करणको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइसिटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पुर्‍याउँने बताए ।

यस वर्ष अवार्डको लागि ४०० बढीको अनलाइन आवेदन प्राप्त भएको थियो भने ४ महिनासम्म छनौट प्रक्रिया सञ्चालन भएको थियो ।

यस वर्ष १२ विधामा आईसिटी अवार्ड प्रदान गरिएको छ । १२ विधाअन्तर्गत यस वर्षको ह्वावे स्टार्टअप आइसिटी अवार्ड खेती भेञ्चरलाई प्रदान गरिएको छ ।

त्यस्तै प्रडक्ट आईसीटी अवार्ड मिखालाई प्रदान गरिएको छ । राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड मशुरलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोट पश्चात पब्लिक भोटिङ गरिएको थियो ।

त्यस्तै व्यक्तिलाई प्रदान गरिने आन्टरप्रेनर आइसिटी अवार्ड दिपेश प्रधानलाई, नेपाली डायस्पोरा आइसिटी अवार्ड लाई, नेपाल बैंक पायोनियर आइसिटी अवार्ड मनोहर कुमार भट्टराई र एनसेल वुमन आइकन आइसिटी अवार्ड गुण केशरी प्रधानलाई प्रदान गरिएको छ ।

संस्थाहरूलाई प्रदान गरिने डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर) कालिका मावि बुटवललाई, डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) ललितपुरको रातो बंगला स्कुललाई, डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर) आइसिटी अवार्ड नेपाल क्लियरिङ हाउस लिमिटेडलाई र डिजिटल सर्भिसेस (पब्लिक सेक्टर) आइसिटी अवार्ड भूमि व्यवस्था तथा अभिलेख विभागलाई वितरण गरिएको छ । त्यस्तै पब्लिक च्वाइस आइसिटी अवार्ड बगभीलाई प्रदान गरिएको छ ।

अवार्ड वितरण कार्यक्रमका प्रचुख अतिथि संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको सही प्रयोगमा जोड दिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले आईसीटी अवार्ड पुरस्कार वितरण गर्ने थलो मात्रै नभएर सार्वजनिक निजी साझेदारीको राम्रो मोडल भएको बताए ।

पूर्वसंचारमन्त्री पार्वत गुरूङले आईसीटी अवार्डले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान दिएको उल्लेख गरे ।

विजेतालाई १५ लाखसम्म सहुलियत ऋण

यस वर्ष स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इनोभेसन आईसीटी अवार्ड २०२१ का विजेतालाई बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म बिनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछ । वुमन आइकन आईसीटी अवार्ड विजेतालाई एनसेलले आकर्षक रकमसहित पुरस्कार प्रदान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *