देशलाई समृद्ध बनाउने पर्याप्त आधार मसँग छन् : माधव नेपाल (भिडिओ) – Nepal Press

देशलाई समृद्ध बनाउने पर्याप्त आधार मसँग छन् : माधव नेपाल (भिडिओ)

नेकपा (एकीकृत समाजवादी ) पार्टीका अध्यक्ष माधव कुमार नेपालले देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरु आफूसँग रहेको बताएका छन् । उत्कृष्ठ किसान सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै खालका अन्याय, अत्याचार र शोषण, दमनबाट मुक्ति दिलाउन चाहेको बताए ।

अध्यक्ष नेपालले यो देशलाई पिछडिएको अवस्थाबाट समुन्नत बनाउने पर्याप्त सम्भावना रहेको भन्दै देशमा नै नागरिकलाई खानका लागि चाहिने खाद्यान्नको आवश्यक परिपूर्ति पूरा गर्न सकिने बताए ।

उनले नेपालमा रहेको अर्थतन्त्रका क्षेत्रहरुमध्ये कृषि अत्याधिक महत्वपूर्ण भएकोले कृषिलाई सबैभन्दा बढी प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘हामी हाम्रो देश नेपाललाई गरिबी, अभाव र बेरोजगारीबाट मुक्त गराउन चाहन्छौँ । नेपाललाई शोषण, दमन, उत्पीडनबाट मुक्त गर्न चाहन्छौँ । देशलाई सबै खालका असहमानताहरुबाट, अन्याय, अत्याचार र थिचोमिचोबाट मुक्त गर्न चाहन्छौँ । हामी हाम्रो देश नेपालाई सुन्दर बनाउन चाहन्छौँ । नेपाली जनतालाई सुखी बनाउन चाहन्छौँ । हामी प्रत्येक नेपालीहरुको अनुहारमा उज्यालोपन देख्न चाहन्छौँ । मधुरमुस्कान देख्न चाहन्छौँ । प्रशन्न हृदयी भएको देख्न चाहन्छौँ । हामी प्राकृतिक सम्पदामा धनी देश हौँ, कृषि, पर्यावरण, वनजंगलको क्षेत्रमा धनी देश हौँ । फलफूलदेखि लिएर माछामासुसम्म सबै उपभोग्य वस्तुहरु, शरीरको निम्ति अत्यन्तै पोषक तत्वहरु, हामी हाम्रै देशमा उत्पादन गर्न सक्छौँ । हाम्रो नागरिकको आवश्यक्तालाई पूरा गर्न सक्दछौँ । साथै उत्पादन गरेर विदेशमा निर्यात पनि गर्न सक्दछौँ ।’

अध्यक्ष नेपालले कृषिमा लाग्दा इज्जत नघट्ने भन्दै सरकारले कृषिलाई बजारसँग जोड्न भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए । उनले सरकारले गुणस्तरलाई हेरर छिटो र छरितो विज्ञान प्रविधिलाई कृषिमा जोड्नुपर्ने बताए ।

अध्यक्ष नेपालले नेपालमा पर्यटन, जलविद्युत र कलकारखानाहरु खोल्न बलियो सम्भावना रहेको तर यसमा गहिरो अध्ययन अनुसन्धान आवश्यक रहेको बताए । उनले प्रविधिको प्रयोगसँगै वातावरण्लाई पनि त्यत्तिकै महत्व दिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर