भिटेन र पुलिसको मन मिलेपछि : जब प्रहरीले नै भिटेनको फ्यान भन्दै फोटो खिचाए ! – Nepal Press

भिटेन र पुलिसको मन मिलेपछि : जब प्रहरीले नै भिटेनको फ्यान भन्दै फोटो खिचाए !

काठमाडौं । र्‍यापर समीर घिसिङ उर्फ भिटेन र प्रहरीको सम्बन्ध कहिल्यै ‘हार्दिक’ रहेन । भिटेनलाई देखिनसहने प्रहरी र प्रहरीलाई देखिनसहने भिटेनले एकअर्कालाई सँधै आरोप-प्रत्यारोप गर्दै आइरहे ।

छाडा गीत गाएर समाज बिगारेको आरोप लगाउँदै प्रहरीले भिटेनलाई पक्राउ मात्र गरेन, मुद्दा समेत चलायो । आइन्दा त्यस्तो नगर्ने सर्तमा उनी धरौटीमा समेत रिहा भए ।

गत महिना रिलिज भएको ट्रयाक ‘गल्ली सडक’ भिटेनले आफ्नै वास्तविक जीवनलाई गीतमा उतारेका थिए । सो गीतमा उनले राजनीतिक व्यवस्था र प्रहरीप्रति आक्रोश पोखेका थिए । उनका अधिकांश गीतमा प्रहरीलाई गाली गरिएका हुन्छन् ।

तर, प्रहरीभित्रै उनै भिटेनका फ्यान पनि प्रशस्तै रहेछन् । जुन दृश्य हालै उनले सेयर गरेका केही तस्बिरबाट पुष्टि हुन्छ । हालै एक कार्यक्रममा पुगेका भिटेनलाई प्रहरीले रोकेर फोटो समेत खिचाए । यो तस्बिर सामाजिक संजालमा भाइरल हुन बेर लागेन ।

सुरुआतदेखि नै पुलिसविरोधी गीत गाउँदै हिँड्ने भिटेनले अकस्मात पुलिससँगकै फोटो खिचाएर पोस्ट गर्दा स्वभाविक नहुने पनि भैहाल्यो । उनका फ्यानले भिटेनसँग यो तस्बिरको कारण सोधे र कतिपयले आश्चर्य पनि जनाएका छन् ।

उक्त तस्बिरको यथार्थबारे नेपाल प्रेसले भिटेनसँग जिज्ञासा राखेको थियो । जवाफमा भिटेनले एक कार्यक्रममा पुगेको बेला प्रहरीहरुले आफूसँग फोटो खिचाउन चाहेपछि खिचेको बताएका छन् । ‘सबै प्रहरी गलत हुनुहुन्न । असल प्रहरी दाजुहरु पनि हुनुहुन्छ । मैले सिस्टम र केही प्रवृत्तिलाई गीतमार्फत विरोध गरेको हुँ’ भिटेनले भने, ‘असल र राम्रो पुलिस फोर्स भए देशलाई पनि फाइदाको कुरा हो ।’

पछिल्लो गीत ‘गल्ली सडक’मा भिटेनको एउटा लाइन थियो : के फाइदा छ र मलाई बिग्रिसकेको समाज बिगारेर ?’ उनले कुन मुडमा यो गीत लेखे, उनैले जानून तर, भिटेन र प्रहरीको यो दोस्तीले पक्कै पनि फ्यानमाझ सकारात्मक सन्देश प्रवाह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *