सबै सरकारी निकायलाई स्वदेशी वस्तु प्रयोग गर्न उपराष्ट्रपतिको आग्रह (भिडिओ) – Nepal Press

सबै सरकारी निकायलाई स्वदेशी वस्तु प्रयोग गर्न उपराष्ट्रपतिको आग्रह (भिडिओ)

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सबै सरकारी निकायलाई स्वेदशी वस्तुको प्रयोग गर्न आग्रह गरेका छन् ।

नेपाल हस्तकला महासंघको स्वर्ण महोत्सवका अवसरमा सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सबै सरकारी निकायलाई स्वदेशी हस्तकलाका सामाग्री प्रयोग गर्न आग्रह गरेका हुन् ।

उनले नेपाली हस्तकलाले व्यापारघाटा न्यूनीकरणमासमेत महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै निर्यात प्रवर्द्धनमा समेत जोड दिए ।

निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारणका साथै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान कायम गर्न सफल हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने उनको भनाई थियो ।

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोनाबाट थलिएको हस्तकला व्यवसायलाई पुर्नजीवन दिन तीनवटै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

त्यस्तै हस्तकलाले खेलेको भूमिकाबारे निवन्ध प्रतियोगिता आयोजना गर्ने, महासंघका पूर्व पदाधिकारी तथा सदस्यलाई क्रमश सम्मान गर्दै जाने, बृक्षारोपणका कार्यक्रम संचालन गर्ने, हेरिटेज वाक कार्यक्रम आयोजना गर्ने र स्वर्ण वर्षभरि प्रयोग गर्ने गरी लोगो अंकित मफलर बनाउने रहेको पनि अध्यक्ष शाक्यले बताए ।

हस्तकला महासंघका उपाध्यक्ष तथा हस्तकला वर्षका संयोजक रवीन्द्र शाक्यले हस्तकलाको विकास र विस्तारका लागि सबैभन्दा पहिले हस्तकला नीति तर्जुमा गरिनुपर्ने बताए ।

महासंघका अनुसार संगठनलाइ देशव्यापी बनाउन हस्तकला संघलाई २०६३ सालमा नेपाल हस्तकला महासंघमा परिणत गरिएको थियो । हाल १७ जिल्ला संघ, १२ वस्तुगत संघ, फर्म, कम्पनी, उद्योग, कलाकार, कालीगढ गरी चार हजार सदस्यमध्ये एकहजार सातसय क्रियाशिल सदस्य रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *