संसद चल्नुअघि ६४० जनाको कोरोना परीक्षण : चारजनामा संक्रमण पुष्टि, सभामुखको रिपोर्ट नेगेटिभ – Nepal Press

संसद चल्नुअघि ६४० जनाको कोरोना परीक्षण : चारजनामा संक्रमण पुष्टि, सभामुखको रिपोर्ट नेगेटिभ

काठमाडौँं । मंगलबारदेखि सुरु हुन लागेको संघीय संसदको बैठकलाई लक्षित गरि सरकारले सभामुखसहित सांसद, संसद सचिवालयका कर्मचारी, मर्यादापालक तथा सुरक्षाकर्मी गरी ६४० जनाको कोरोनाभाइरस परीक्षण गरेको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोजेटिभ आउने ४ जनामा दुई जना संसद सचिवालयका कर्मचारी र दुई जना सुरक्षाकर्मी रहेको परीक्षण गर्न जाने स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)को टोलीले जानकारी दिएको छ ।

स्वास्थ्यटोलीको नेतृत्व गरेका इडिसिडीका ल्याव टेक्निसियन निरीक्षक भोला अधिकारीले विहान ११ देखि दिउसो सवा तीन बजेसम्म १५७ जना सांसदसहित ६४० जनाको कोभिड परीक्षण गरेको बताए । उनले अझै २६० जनाको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको र उनीहरुको रिपोर्ट भोलि बिहान आउने जनाए ।

यसअघि संसद सचिवालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत इडिसिडीलाई सांसद, कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक र सवारी चालक गरी कुल ९०० जनाको कोभिड परीक्षण गरिदिन भनेको थियो ।

एन्टिजेन परीक्षणका लागि नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, तोकिएको थियो । महाधिवेशन चलेकाले कांग्रेस सांसदहरुले आज कोरोना परीक्षण गराएनन् । उनीहरुको भोलि बिहान परीक्षण गराइने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *