टोनी हागनको पुस्तक ‘नेपालमा मेरो खोज यात्रा’ किम्फमा लोकर्पण – Nepal Press

टोनी हागनको पुस्तक ‘नेपालमा मेरो खोज यात्रा’ किम्फमा लोकर्पण

काठमाडौं । भूगर्भविद् तथा अनुसन्धानकर्ता टोनी हागनको पुस्तक ‘बिल्डिङ ब्रिजेज टु द थर्ड वल्र्ड’लाई अब नेपाली भाषमा समेत पढ्न पाइने भएको छ । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) अन्तर्गत आइतबार पुस्तकको नेपाली संस्करण ‘नेपालमा मेरो खोजी यात्रा’ लोकर्पण गरियो ।

हिमाल पुस्तकले प्रकाशित गरेको उक्त पुस्तकलाई टोनी हागनकी छोरी डा. क्याट्रिना हागन र टोनी हागन फाउन्डेसन नेपालका अध्यक्ष प्राडा प्रमोदकुमार झाले संयुक्तरुपमा लोकर्पण गरे ।

पुस्तकलाई किम्फका प्रमुख समेत रहेका हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले अनुवाद गरेका ह्न ।

पुस्तक लोकार्पण गर्दै हागनकी सुपुत्री क्याट्रिनाले नेपालमा देखिएको प्राकृतिक, सामाजिक र धार्मिक विविधताको चर्चा गरिन् । विश्वभर इस्लाम अतिवाद मौलाइरहेको बेलामा नेपाल हरेक कुरामा सहिष्णु रहेको बताइन् । ‘नेपाल सबैजना र सबै धर्मको लागि खुला हुनुपर्छ’ उनले भनिन् ।

अनुवादक थापाले पुस्तकको मर्मअनुसार अनुवाद गरेको बताए । ‘ट्रान्सलेट साह्रै कठिन काम हो । बरु मौलिकतामा लेख्न सजिलो हुन्छ । अनुवाद लिकमा चल्ने रेल रहेछ’ उनले भने ।

हागनले पुस्तकमार्फत नेपालीलाई नेपाल चिन्न आग्रह गरेको बताउँदै थापाले भने, ‘हामीले नेपाल चिन्नुपर्छ । हामी कस्तुरी जस्तै छौं । वैज्ञानिक प्रद्धती हाम्रो जीवनमा प्रवेश गरेकै छैन । पुस्तकमार्फत हागनको मुख्य आग्रह भनेकै हामीले नेपाल चिन्नुपर्छ भन्ने हो ।’

जलस्रोतलाई सेतो सुनको संज्ञा दिँदै हागनले पुस्तकमा नेपालमा ह्वाइट गोल्डको प्रशस्त सम्भावना रहेको बताए । नेपाललाई बारम्बार स्वीटजरल्यान्डसँग तुलना गरिने गरिएको उल्लेख गर्दै उनले स्वीस नागरिकको परिश्रमबाट नेपालीले सिक्नुपर्ने बताए ।

नेपालसहित विश्वका अन्य विकासशील मुलुकहरुमा चार दशकभन्दा बढी समय विशेषज्ञको रुपमा काम गरेका हागनले यसमा नेपाल घुमघाम गर्दा भेटिएका रोचक दृश्य, तथ्य र क्षणलाई उल्लेख गरेका छन् ।

हागन पहिलोपटक भूगर्भविद्को रुपमा सन् १९५० मा नेपाल आएका थिए । सरकारको अनुमतिबिना विदेशीले काठमाडौंबाहिर यात्रा गर्न नपाउने त्यस्तो बेलामा स्वीस टोलीको सदस्य भएको नाताले हागनले त्यतिबेला नेपालको गाउँ चहार्न पाए ।

३१४ पृष्ठको नेपालमा मेरो खोजयात्राको मूल्य ६५० रुपैयाँ राखिएको छ । यसअघि हागन लिखित पुस्तक ‘डिसेन्ट्रलाइजेसन एन्ड डेभलपमेन्ट’को नेपाली अनुवाद ‘विकेन्द्रिकरण र विकास’ यसअघि नै प्रकाशित भैसकेको छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *