ए डिभिजन लिग : लगातार जितपछि आर्मी दोस्रो स्थानमा – Nepal Press

ए डिभिजन लिग : लगातार जितपछि आर्मी दोस्रो स्थानमा

काठमाडौं । सुरुआती तीन खेलबाट पाँच अंकमा सीमित भएको त्रिभुवन आर्मी फुटबल क्लब शुक्रबार च्यासल युथ क्लबलाई पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

चौथो चरण अन्तर्गत शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आक्रामक शैलीमा प्रस्तुत भएको आर्मीले जारी सिजन औसत मानिएको च्यासलविरुद्ध सहज जित निकाल्यो ।

सुरुआतदेखि नै आक्रामक शैली अपनाएको विभागीय महारथीका लागि जर्ज प्रिन्स कार्कीले १९औं मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । मिडफिल्डर टंक बस्नेतले विङ्गबाट दिएको सुन्दर क्रसमा उत्कृष्ट रन बनाउँदै जर्जले सुन्दर गोल गरेका थिए । च्यासलको रक्षापंक्तिमाथि निरन्तर दबाब बनाएको आर्मीले पहिलो हाफ करिब १० मिनेट बाँकी रहँदा अग्रता दोब्बर पारेको थियो ।

आर्मीका राइट ब्याक गौतम श्रेष्ठले ३६औं मिनेटमा विङ्गबाट उत्कृष्ट रन बनाउँदै कर्नर फ्ल्याग नजिकबाट सुन्दर क्रस दिएका थिए । सोही क्रसलाई ६ यार्ड बक्स अगाडि ‘अन्माक्र्ड’ रहेका जगजित श्रेष्ठले ट्याप इन गर्दै सुन्दर गोल गरेका थिए ।

सुरुआती २० मिनेटमै अग्रता लिएसँगै ‘हाई प्रेसिङ’ गर्दै च्यासललाई पूर्ण दबाबमा राखेको थियो । तीव्र गतिको आर्मीको अट्याकसामु अत्तालिएको च्यासलले पूरा पहिलो हाफ बचाउमै खर्चेको थियो ।

नवौं मिनेटमा कमल श्रेष्ठले दायाँ तर्फबाट प्रहार गरको कर्नरमा डिफेन्डर अभिषेक लिम्बुले आर्मीका खेलाडीमाथि फाउल गरेका थिए । जसमा च्यासलले स्पष्ट मौका बनाउन सकेन ।

सुरुआती २५ मिनेटसम्म आर्मीको हाफमा बल पुर्याउनै संघर्षरत च्यासलका मिडफिल्डर आशिष राईले २३औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार फ्रेममा परेन ।

च्यासलका राइट ब्याक कमल श्रेष्ठले २८औं मिनेटमा आर्मीका फरवार्ड जगजित श्रेष्ठले फाउल गरेसँगै आर्मीले सेटपिसमा पुनः अवसर सिर्जना गर्ने मौका पाएको थियो । सोही फ्रि–किकमा सन्तोष तामाङले पेनाल्टी एरियाभित्र दिएको डेलिभरीमा आर्मीका डिफेन्डर विकाश तामाङको हेडर फ्रेममा परेन ।

पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा आर्मीका शेशेहाङ आङ्देम्बेले दिएको डेलिभरीमा पेनाल्टी एरिया भित्रबाट कप्तान भरत खवासले हेडरमार्फत गरेका प्रहार च्यासलका गोलकिपर अर्पण कार्कीले बिफल बनाएका थिए ।

दोस्रो हाफमा पनि सुरुआतदेखि नै च्यासलविरुद्ध आक्रमण जारी राखेको आमीले चार मिनेट नबित्दै अग्रता थप फराकिलो बनाउने मौका बनाएको थियो । सब्स्टिच्युट खेलाडी विवेक बस्नेतले ४९औं मिनेटमा राइट विङ्गबाट दिएको क्रसमा आर्मीका फरवार्ड जर्जले हेडरमार्फत गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

विभागीय महारथी आर्मीविरुद्ध रक्षापंक्तिमै व्यस्त भएको च्यासलले विरलै आर्मीमाथि आक्रमणको मौका पाएको थियो । मिडफिल्डर अजित गुरुङले ७८औं मिनेटमा पेनाल्टी एरिया अगाडिको हाफ सर्कलबाट गरेको प्रहार टार्गेटमा नपर्दा च्यासल पुनः निराश बनेको थियो ।

जितसँगै साविक उपविजेता आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको आमीले दोस्रो खेलमा मछिन्द्रसँग पनि गोलरहित बराबरी खेलेको थियो ।

तेस्रो खेलमा ब्रिगेड व्बाइज क्बलविरुद्ध सिजनको पहिलो जित निकालेको आर्मीका लागि कप्तान भरतले त्यो खेलमा एक मात्र निर्णायक गोल गरेका थिए । तेस्रो चरणका खेल सकिँदा तालिकाको छैठौं स्थानमा सीमित भएको आर्मी आजको जितसँगै चार खेलबाट ८ अंक जोडेर उपाधि होडमा फर्किएको छ ।

पराजित च्यासल चार खेलबाट चार अंक जोडेर नवौं स्थानमा छ । पहिलो खेलमा थ्री–स्टारसँग ३–० को नजितामा पराजित भएको च्यासलले दोस्रो खेलमा एपीएफलाई १–० ले पराजित गरेको थियो । तेस्रो खेलमा न्युरोड टिम ९एनआरटी०सँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

शुक्रबार नै भएको चौथो चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबमाथि २–० को सहज जित निकालेको थियो । जितसँगै मनाङ सुरुआती चार खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ ।

चोथो चरणको दोस्रो दिन भोलि ९शनिबार० दिउँसो १ बजे हुने पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र एनआरटी भिड्ने छन् । यस्तै, पौने ५ बजे हुने दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र आमनेसामने हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर