१५ लाख डोज मोडर्ना खोप काठमाडौं आइपुग्यो, आइतबार थप १९ लाख ६५ हजार डोज आउँदै – Nepal Press

१५ लाख डोज मोडर्ना खोप काठमाडौं आइपुग्यो, आइतबार थप १९ लाख ६५ हजार डोज आउँदै

काठमाडौं । नेपालले कोभ्याक्स सुविधाअन्तर्गत थप करिब १५ लाख मोडर्ना खोप प्राप्त गरेको छ । उक्त परिमाणको खोप काठमाडौं आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत डा. बडेबाबु थापाले बिहीबार दिउँसो १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप नेपाल आइपुगेको जानकारी दिए ।

आगामी आइतबार १९ लाख ६५ हजार छ सय खोप काठमाडौं आइपुग्ने समेत थापाले जानकारी दिए । गत शुक्रबार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल ल्याइएको थियो । नेपालले अहिलेसम्म दुई करोड ९४ लाख ५४ हजार १३० डोज खोप प्राप्त गरिसकेको छ ।

मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा कुल एक करोड ९९ लाख पाँच हजार ५०१ मात्रा खोप लगाइएको छ । जसमध्ये एक करोड आठ लाख ४६ हजार ९१९ जनाले पहिलो मात्रा र ९० लाख ५८ हजार ५८२ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, १८ वर्ष वा सोभन्दा माथिका लक्षित जनसङ्ख्यामा ५४.४ प्रतिशतले एक मात्रा र ४५.५ प्रतिशत पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *