दिल्लीमा ओमिक्रोन संक्रमण पुष्टि, भारतमा पाँचवटा केस भेटियो – Nepal Press

दिल्लीमा ओमिक्रोन संक्रमण पुष्टि, भारतमा पाँचवटा केस भेटियो

बैंग्लोर, मुम्बइ र जामनगरपछि भारतको राजधानी नयाँ दिल्लीमा समेत कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार संक्रमित व्यक्ति तान्जानियबाट त्यहाँ पुगेका थिए ।

दिल्ली विमानस्थलमा गरिएको परीक्षणमा ती व्यक्तिलाई ओमिक्रोन संक्रमण पुष्टि भएको पत्ता लागेको हो । उनलाई अहिले दिल्लीको एलएनजीपी अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालका व्यवस्थापकीय निर्देशक सुरेशकुमारका अनुसार संक्रमित व्यक्तिमा घाँटीमा समस्या, थकान र शारिरिक दुखाइजस्ता लक्षण देखिएको छ । संक्रमित व्यक्तिले कोभिडविरुद्धको दुबै डोज खोप लिएकाले हल्का लक्षण देखिएको जनाइएको छ ।

यसअघि गुजरातको जामनगरमा पनि ओमिक्रोन संक्रमित भेटिएका थिए । मुम्बइ र बैंग्लोरसहित भारतमा ओमिक्रोन संक्रमित पुष्टि हुनेको संख्या ५ पुगेको छ । कोरोनाको नयाँ भेरिएन्टलाई लिएर चिन्ता बढिरहँदा भारतले आजदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय यात्रुलाई नयाँ गाइडलाइन्स ल्याएको छ ।

संक्रमणको जोखिम उच्च रहेका देशबाट भारत जानेले अनिवार्य आरटी पीसीआर गर्नुपर्ने भएको छ । जोखिम कम भएका मुलुकबाट जाने मुलुकका यात्रुले भने विमानस्थलबाट बाहिर जाने मौका पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *