टेकु अस्पतालमा इमर्जेन्सी सेवा अबदेखि निःशुल्क – Nepal Press

टेकु अस्पतालमा इमर्जेन्सी सेवा अबदेखि निःशुल्क

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि सो सेवा निःशुल्क गरिएको हो ।

नेपालको संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो ।

कोरोनाभाइरसको तेस्रो लहरले हुनसक्ने सम्भावित जोखिमसमेतलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले यही मङ्सिर १९ गतेदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।

यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने भएको छ । अस्पतालका तर्फबाट निर्देशक डा मनिषा रावलले मङ्सिर १५ गते पत्र लेखेर आवश्यक सहयोग र सो सेवाबारे जानकारी गराइसकेका छन् । सो अस्पतालमा इमर्जेन्सी विभागमा आएका बिरामीको पछिल्लो २४ घण्टाभित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निःशुल्क हुने व्यवस्था गरिएको हो ।

निःशुल्कअन्तर्गत रगत परीक्षण, एक्सरे, इसिजी, टिकटलगायतका सुविधा र २४ घण्टाभित्रको परीक्षण सुविधा तथा त्यसमा लाग्ने औषधिसमेत रहेको मन्त्री खतिवडाको सचिवालयले जनाएको छ ।

सिविसी, आरबीएस, युरिया क्रियटिभ, सोडियम, पोटासियम, युरिन आरएमइ, स्टुल आरएमइ, एक्सरे चेस्ट, इसिजी, ब्लड ग्रुपिङ, सिटी स्क्यानलगायत रहेका छन् । ‘यो व्यवस्थासँगै नागरिकले जनमुखी सरकारको प्रत्याभूति प्राप्त गर्ने र नेपाल सरकारको स्वास्थ्यसम्बन्धी नीति तथा कार्यक्रम पनि कार्यान्वयनमा आउने’, मन्त्री खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए ।

उनले आगामी दिनमा अन्य सरकारी अस्पतालमा पनि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइने विषयमा पहल भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *