भुटानी शरणार्थीको कथामा ‘बुलबुल’ निर्देशकले फिल्म ‘रबर सिटी’ बनाउने – Nepal Press

भुटानी शरणार्थीको कथामा ‘बुलबुल’ निर्देशकले फिल्म ‘रबर सिटी’ बनाउने

काठमाडौं । सन् २०१९ मा ‘बुलबुल’ फिल्म निर्देशन गरेर राष्ट्रिय अवार्ड जितेका विनोद पौडेलले दोस्रो फिल्म निर्देशनको घोषणा गरेका छन् । उनले निर्देशन गर्ने नयाँ फिल्म ‘रबर सिटी’को टीजर पोस्टर सार्वजनिक भएको छ ।

उक्त फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माता अविरल थापाले आगामी मार्चमा फिल्मको छायाँकन अमेरिकामा हुने जनाए । थापासँगै यस फिल्मका अन्य निर्मातामा राजु पौडेल, भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानी छन् । फिल्मको तयारीको लागि निर्देशक पौडेल अमेरिकामै रहेको र अनुमानित पाँच लाख डलर (६ करोड रुपैयाँ) बजेट खर्च हुनसक्ने जनाइएको छ ।

फिल्ममा अहिलेसम्म मुख्य भूमिकामा ‘साँघुरो’ फिल्ममा काम गरिसकेका सुशांक मैनाली र राधा लम्साल ‘भावु’ तय भएको र बाँकी कलाकार भने नयाँ नै हुने विनोद पौडेलले बताएका छन् । अमेरिकाको ओहायो राज्य अन्तर्गतको एक्रोन सहरलाई पहिले रबर सिटी भनिन्थ्यो र भुटानी शरणार्थीलाई पुनर्वास गराएपछि सो सहर पुन गुलजार बनेको थियो । फिल्मले भुटानी शरणार्थीको पुनर्वासपछिको कथा भन्नेछ ।

फिल्मको कथा पटकथा पनि निर्देशक पौडेलले नै लेखेका हुन् भने अमेरिकामै रहेका अंकित पौडेलले छायाँकन गर्नेछन् । फिल्मले विश्वबजारमा नेपाली फिल्मलाई स्थापित गराउने विश्वास लिएको र निर्माण कार्यलाई तीव्र गति दिन फेब्रुअरीमा अमेरिका प्रस्थान गर्न लागेको निर्माता थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *