मानवअधिकार फिल्म फेस्टिभल आजदेखि भर्चुअलरुपमा सुरु (लाइनअपसहित) – Nepal Press

मानवअधिकार फिल्म फेस्टिभल आजदेखि भर्चुअलरुपमा सुरु (लाइनअपसहित)

काठमाडौं । नवौं नेपाल मानवअधिकार फिल्म फेस्टिभल आजदेखि भर्चुअलरुपमा सुरु भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा चल्ने फेस्टिभल मंसिर ९ गतेसम्म आयोजना हुनेछ । फेस्टिभलमा २४ वटा मुलुकका ४२ वटा फिचर, छोटा र डकुमेन्ट्री फिल्म प्रदर्शन हुने भएका छन् । ११ वटा नेपाली फिल्म देखाइने भएको छ ।

फेस्टिभललाई भर्चुअलरुपमा सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोभिड महामारीपछि फिल्म गतिविधि लयमा फर्कने अवस्थामा रहेको बताए । कोरोना प्रभावित फिल्म र क्षेत्रलाई सघाउन सरकार तयार रहेको उनले बताए ।

यस महोत्सवका फिल्महरुलाई मूभी डटकम अनलाइन वेबसाइट (9nhriff.muvi.com) लगइन गरेर हेर्न सकिनेछ ।

फिल्म जुरी मनोजबाबु पन्तले महामारीको कारण फिल्म डिजिटल प्लेटफर्ममा प्रवेश गरेको बताए । उनले इन्डिपेन्डेन्ट फिल्महरुलाई संरक्षण गर्नुपर्ने जरुरी भएको बताए । महोत्सवको पहिलो दिनको बिहानैदेखि फिल्महरु स्ट्रिमिङ गर्न सुरु भएको छ । प्रदर्शन भएको दिनको भोलिपल्ट बिहान ७ बजेसम्म यी फिल्म हेर्न पाइने भएको छ ।

फिल्म प्रदर्शनसँगै मानवअधिकार, कोभिड-१९ को प्रभाव, लैंगिक हिंसा, फिल्मको भूमिका र सशक्तीकरणजस्ता विषयमा छलफल समेत आयोजना हुने भएको छ । अधिकारवादी, फिल्म निर्माता, संचारकर्मी लगायतले छलफल प्यानलमा भाग लिने भएका छन् ।

ओटीटी प्लेटफर्ममा नेपाली फिल्म कसरी पुर्‍याउने भन्ने बारे पनि मास्टरक्लास आयोजना हुने भएको छ । फेस्टिभलमा अन्तर्राष्ट्रिय विधाका फिल्महरुको प्रदर्शन हुने भएको छ भने नेपाली फिल्महरुले प्रतिस्पर्धा मात्र गर्नेछन् ।

नेपाली फिल्मलाई निर्णायक मण्डलले उत्कृष्ट फिक्सन, उत्कृष्ट बृत्तचित्र र उत्कृष्ट चलचित्रकर्मीको छनौट गर्दै पुरस्कृत गर्ने भएका छन् । आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जित निर्णायकको रुपमा छन् । महोत्सवको सह-आयोजकको रुपमा राष्ट्रिय मानवअधिकार आयोग र क्यानडा राजदूतावास छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *