हैजा नियन्त्रणका लागि १० दिने खोप अभियान सञ्चालन – Nepal Press

हैजा नियन्त्रणका लागि १० दिने खोप अभियान सञ्चालन

रुपन्देही । कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि १० दिने खोप अभियान सञ्चालन भएको छ ।लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले मंसिर ५ देखि १२ गतेसम्म १० दिन हैजाविरुद्धको खोप सञ्चालन गरिएको जनाएको छ ।

मन्त्रालयले डब्लूएचओबाट प्रमाणित स्यानकोल नामक मुखबाट खुवाइने भ्याक्सिन दिइएको जनाएको छ । कपिलवस्तुका कृष्णनगर, शिवराज, महाराजगन्ज, विजयनगर नगरपालिका र यशोधरा गाउँपालिकामा असोज १८ देखि फैलिएको झाडा पखालामा हैजाको जीवाणु भेटिएपछि सतर्कता अपनाइएको हो ।

हैजाबाट अहिलेसम्म १ हजार ४ सय ४९ जना संक्रमित भएका छन् । संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार उक्त खोप २ देखि ४ हप्ताको फरकमा २ मात्रा लगाउनुपर्ने छ । दुवै मात्रा पाएका व्यक्तिमा ७ देखि १० दिनबाट उक्त खोपले काम गर्न सक्ने बताइएको छ ।

कपिलवस्तुमा भने ३ हप्ताको फरकमा मंसिर २६ देखि पुस ४ सम्म दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।
कपिलवस्तुमा हैजा फैलिएका पाँचवटै स्थानीय तहका एक वर्षमाथिका सबै व्यक्तिलाई खोप लगाइने मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिए ।

कपिलवस्तुमा असोज १८ देखि हैजा फैलिएको थियो । असोज २२ मा परीक्षणमार्फत् उक्त झाडापखाला हैजा हो भन्ने प्रमाणित भएको र पानीको स्रोत फोहोर भएका कारण हैजा फैलिएको अनुमान गरिएको थियो ।

मन्त्रालयका स्वास्थ्य अधिकृत शैलेन्द्र पाण्डेले कपिलवस्तुमा पानी शुद्ध गर्न क्लोरिन ट्याबलेट वितरण, थप स्वास्थ्यकर्मी परिचालन र व्यक्तिगत सरसफाइका लागि चेतनामूलक कार्यक्रम संचालन गरिएको बताए ।

कपिलवस्तुमा जस्तै प्रकृतिको हैजा केही वर्ष पहिले नेपालगन्जमा फैलँदासमेत यही विधि अपनाएर नियन्त्रणमा लिइएको मन्त्रालयले स्मरण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *