‘ए’ डिभिजन लिगः शेर्पा र संकटाको बराबरी – Nepal Press

‘ए’ डिभिजन लिगः शेर्पा र संकटाको बराबरी

काठमाडौं । शहीद स्मारक ‘ए’ लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ गोलको बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा दुवै टोली गोलका लागि स्पष्ट मौका बनाउन सकेका थिएनन् ।

निरन्तर प्रयास गरे पनि शेर्पाको रक्षापंक्ति छिचोल्न नसेकेको संकटाले ६०औं मिनेटमा लक्ष्मण रुचालले गोल गरेसँगै अग्रता बनाएको थियो । सुवाष गुरुङले दायाँ तर्फबाट गरेको क्रसमा शेर्पाका गोलकिपर दीप कार्कीले रोके पनि नियन्त्रणमा लिन सकेका थिएनन् ।

गोलकिपरको सोही कमजोरीको फाइदा उठाउँदै रुचालले ६ यार्ड बक्स नजिकबाट प्रहार गर्दै जारी लिगको पहिलो गोल गरे । यसअघि शुक्रबार भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीचको उद्घाटना खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो ।

खेलको ६०औं मिनेटमा १–० ले पछाडि परेको शेर्पाले त्यसको चार मिनेट नबित्दै बराबरी गोल फर्कायो । ६४औं मिनेटमा राइट ब्याक जीवन गुरुङको क्रसमा त्रिदेव गुरुङले हेडरमार्फत् शेर्पाका लागि गोल गरेको थिए ।

गोल हुनुअघि लगातार संकटाको पेनाल्टी बक्समा आक्रमण गरिरहेको शेर्पाका त्रिदेवले ६ यार्ड बक्स नजिकबाट दायाँपट्टी टप कर्नरमा गरेको प्रहारमा संकटाका डिफेन्डर दर्शक मात्र बनेका थिए ।

संकटाले निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा पेनाल्टी एरिया बाहिरबाट गणेश हमालले गरेको प्रहार विपक्षी खेलाडीलाई लागेर क्रसबारमा लाग्दै फर्किएको थियो । सोही ‘रिबाउन्ड’ बलमा संकटाका गोलकर्ता लक्ष्मणले हेडरमार्फत गरेको प्रहार फ्रेममा परेन ।

९०औं मिनेमा मोइनुदिनले दिएको पासलाई शेर्पाका पूर्ण बहादुर गुरुङले राइट फ्लान्कबाट गरेको सशक्त प्रहार साइड नेटमा परेको थियो । बराबरीसँगै संकटा र शेर्पाले १–१ अंक बाँडेका छन् । शुक्रबारदेखि सुरु भएको लिगमा अहिलेसम्म दुवै टोलीले तीन अंक जोड्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर