लिग लिडर बायर्नमाथि अग्सबर्गको रोमाञ्चक जित – Nepal Press

लिग लिडर बायर्नमाथि अग्सबर्गको रोमाञ्चक जित

काठमाडौं । बायर्न म्युनिख बुन्डेसलिगामा शुक्रबार अग्सबर्गसँग २–१ गोलले पराजित भएको छ । अग्सबर्गको मैदानमा भएको खेलमा मेड्स पिडरसेनले २३औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । भ्रमणकारी बार्यनमाथि निरन्तर आक्रमण गरेको अग्सबर्गका लागि एन्ड्रे हानले ३५औं मिनेटमा दोस्रो गोल गरेका थिए । त्यसको तीन मिनेट नबित्दै बायर्नका लागि रोबर्ट लेवानडोस्कीले एक गोल फर्काए पनि पहिलो हाफमा अग्सबर्गले २–१ को अग्रता बनाएको थियो ।

पहिलो हाफमा लिएको २–१ को अग्रता निर्धारित समयसम्म कयम राख्दै अग्सबर्गले लिग लिडर बार्यनविरुद्ध रोमाञ्चक जित हासिल गर्यो । जितसँगै १२ खेलमा १२ अंक जोडेको अग्सबर्ग लिग तालिकाको १५औं स्थानमा उक्लिएको छ । पराजित बायर्न १२ खेल बाट २८ अंकसहित बुन्डेसलिगाको शीर्ष स्थानमा छ ।

त्यस्तै, स्पेनिस ला लिगामा लेभान्टे र एथ्लेटिक क्लबले गोलरहित बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवैटोलीले अंक बाँडेका छन् । बराबरीसहित एथ्लेटिक क्लब १३ खेलमा १९ अंक जोड्दै लिग तालिकाको सातौं स्थानमा छ । लेभान्टे १४ खेलबाट ७ अंक जोडेर लिग तालिकाको १९औं स्थानमा छ ।

फ्रेन्च लिग वानमा मोनाको र साविक विजेता लिलेले २–२ गोलको बराबरी खेलेका छन् । खेल सुरु भएको पाँच मिनेटमा लिलेका लागि जोनाथान डेभिडले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेट नबित्दै जोनाथानले नै पेनाल्टीमार्फत् गोल गर्दै लिलेको अग्रता दोब्बर बनाएका थिए ।

मोनाकोका लागि ४१औं मिनेटमा क्रेपिन डियाटाले गोल गरेपछि खेल पहिलो हाफमा २–१ को स्कोरलाइनमा सकिएको थियो । मोनाकोका लागि विसाम बेन येडरले ८३औं मिनेटमा गोल गर्दै मोनाकोलाई हारबाट जोगाए । बराबरीसँगै लिले १४ खेलबाट १७ अंकसहित लिग तालिकाको १२औं स्थानमा छ । मोनाको १४ खेलबाट १९ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर