‘तेन्जिङ’ फिल्मबाट नेटफिल्क्सले हात झिक्यो, अब वाल्ट डिज्नेले बनाउने – Nepal Press

‘तेन्जिङ’ फिल्मबाट नेटफिल्क्सले हात झिक्यो, अब वाल्ट डिज्नेले बनाउने

मुख्य पात्रको लागि कास्टिङ कल आह्वान

काठमाडौं । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारेको फिल्म ‘तेन्जिङ’बाट नेटफिल्क्सले हात झिकेको छ । गतवर्ष उक्त अमेरिकी स्ट्रिम कम्पनीले कलाकार खोज्दै ‘कास्टिङ कल’ पनि आह्वान गरेको थियो ।

अब नेटफिल्क्सले फिल्म निर्माणलाई स्थगित गरेपछि वाल्ट डिज्ने स्टुडियोले फिल्मलाई निर्माण गर्ने भएको छ । डिज्ने प्लसमा रिलिज हुने फिचर लेङ्थ फिल्मको लागि भन्दै वाल्ट डिज्नेले गतसाता विश्वव्यापी कास्टिङ कल जारी गरेको छ ।

सन् २०२२ मा नेपाल र न्यूजिल्यान्डमा छायांकन सुरु हुने फिल्मको मुख्य पात्र तेन्जिङसहितका विभिन्न सहायक कलाकार खोजी गरिएको छ । २५ वर्षदेखि ४० वर्ष उमेरको तेन्जिङ पात्र मागिएको छ ।

तेन्जिङसहित थप चारवटा सहायक कलाकारको समेत कास्टिङ कल आह्वान गरिएको छ । मुख्य पात्रको लागि शेर्पा, तिब्बती अर्थात हिमालमा बसोबास गर्ने पुरुष वा महिला हुनुपर्ने सर्त छन् ।

अष्ट्रेलियाली कम्पनी डेनीलङले अहिले वाल्ट डिज्नेको लागि कास्टिङ कल आह्वान गरेको छ । नेपालको कास्टिङ भने निर्देशक छिरिङरितार शेर्पाको मिला प्रोडक्सनले हेर्ने भएको छ । मिलाले यसैसाता तिब्बती, नेपाली र अंग्रेजी भाषामा कास्टिङ कल गरेको छ ।

‘सुरुमा नेटफिल्क्सले बनाउने भनेर तयार भएको फिल्म अन्तिम समयमा उसले हात झिकेपछि अहिले डिज्नेले बनाउँदैछ’ नेपाल प्रेससँग निर्देशक शेर्पाले भने, ‘त्यतिबेला पनि कुनै कलाकारलाई कास्ट गरिएको थिएन । त्यही भएर हुनसक्छ डिज्नेले यो प्रोसेसलाई अघि बढायो होला ।’

निर्देशक शेर्पाका अनुसार सन् २०२२ को मध्यतिर यो फिल्म नेपालमा समेत छायांकन हुनेछ । शेर्पाले सन् १९५३ को मे २९ मा न्यूजिल्यान्डका एडमन्ड हिलारीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । टाइम म्यागजिनले शेर्पालाई २० औं शताब्दीका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *