टी-२० अन्तर्राष्ट्रिय शृंखलाः कप्तान रुबिनाको शानदार बलिङमा नेपालको फराकिलो जित – Nepal Press

टी-२० अन्तर्राष्ट्रिय शृंखलाः कप्तान रुबिनाको शानदार बलिङमा नेपालको फराकिलो जित

काठमाडौं । कप्तान रुबिना क्षेत्रीको शानदार बलिङप्रेरित नेपाली राष्ट्रिय महिला टोलीले पहिलो टी-२० अन्तर्राष्ट्रियमा कतारविरुद्ध १ सय १९ रनको फराकिलो जित निकालेको छ । मंगलबार कतारमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रनको योगफल तयार पारेको थियो ।

दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको कतारले ११.५ ओभरमा सबै विकेट गुमाएर २७ रन मात्रै बनाउन सक्यो । नेपालको कसिलो बलिङसामु टिक्न नसकेको कतारका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि १.५ ओभर बलिङ गरेकी रुबिनाले मात्रै १ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् । यस्तै, सीता राना मगर र कविता कुँवरले २-२ तथा करुण भण्डारीले एक विकेट लिइन् ।

पहिलो इनिङमा इन्दु बर्माको अर्धशतक नेपालले पूरा २० ओभर खेल्दै सम्मानजनक योगफल तयार गरेको थियो । नेपालका लागि ४७ बलको सामना गरेकी इन्दुले ५ चौकासहित ५५ रनको शानदार इनिङ खेलिन् । यस्तै सीता राना मगरले ३३ बलमा ५ चौकासहित ३९ रन बनाउँदा सरिता मगरले २१ तथा कविता कुँवरले अविजित ८ रनको योगदान गरेकी थिइन् ।

कतारका लागि सबीजा पनायेन र एन्जेलिन मेरले १-१ विकेट बाहेक अन्य बलरले सफलता हात पार्न सकेनन् ।

आईसीसी विश्वकपको एसिया छनोटको तयारी स्वरुप कतारमा पहिलो टी-२० शृंखला खेलिरहेको नेपालले घरेलु टोलीविरुद्ध अझै दुई टी-२० खेल्ने छ । युएईमा हुने छनोटका लागि नेपाली टोली त्यतैबाट प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर