यी पाँच खेलाडी जसले अष्ट्रेलियालाई टी-२० विश्व च्याम्पियन बनाए – Nepal Press

यी पाँच खेलाडी जसले अष्ट्रेलियालाई टी-२० विश्व च्याम्पियन बनाए

काठमाडौं । यूएईमा सम्पन्न आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले हात पार्‍यो । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई आठ विकेटले हराउँदै उसले उपाधि जितेको हो ।

अष्ट्रेलियाले पहिलोपटक टी-२० विश्वकपको उपाधि हात पार्दा न्युजिल्याण्डको उपाधि जित्ने सपना भने चक्नाचुर भयो । यसअघि सन् २०१० मा टी-२० विश्वकपको फाइनलमा पुगेको अष्ट्रेलिया उपाधि हात पार्न चुकेको थियो।

तर, यसपटक भने उसले ऐतिहासिक जितसँगै उपाधि जित्न सफल भयो । र, पहिलो पटक टी-२० विश्वकपको उपाधि आफ्नो नाममा लेखाउन सफल भयो । अस्ट्रेलियालाई पहिलो पटक टी-२० विश्व च्याम्पियन बनाउन यी पाँच खेलाडीको महत्वपूर्ण भूमिका छ ।

डेभिड वार्नर

डेभिड वार्नरले न्युजिल्याण्डविरुद्धको फाइनलमा उत्कृष्ट ५३ रन बनाएका थिए । उनलाई ट्रेन्ट बोल्टले बोल्ड गरेका थिए । वार्नरले ३८ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । उनले प्लेयर अफ दि टुर्नामेन्टको अवार्ड पनि पाए ।

मिचेल मार्स

कप्तान आरोन फिन्च मात्र पाँच रनमा आउट भएपछि ब्याटिङमा आएका मिचेल मार्सले डेभिड वार्नरसँग मिलेर अस्ट्रेलियाको इनिङ्स सम्हालेका थिए। उनले ५० बलमा छ चौका र चार छक्का प्रहार गर्दै ७७ रनको अविजित इनिङ्स खेले । र, कंगारू टोलीलाई टी-२० विश्वकपको पहिलो जित दिलाएका थिए । वार्नर आउट भएपछि पनि उनले अग्रता कायम राखे ।

ग्लेन म्याक्सवेल

डेभिड वार्नरलाई आउट गरेपछि न्युजिल्यान्डको आशा फेरि बलियो भयो । तर, ग्लेन म्याक्सवेलले मिचेल मार्ससँगको उत्कृष्ट साझेदारी गर्दै अष्ट्रेलियालाई जित दिलाए । मार्स र म्याक्सवेल अन्तिमसम्म विकेटमा रहे र टोलीलाई उपाधि दिलाए । म्याक्सवेलले १८ बलमा चार चौका र एक छक्का प्रहार गर्दै २८ रनको उत्कृष्ट पारी खेले ।

जोस हेजलवुड

जोस हेजलवुडले यो खेलमा उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा १६ रन दिएर तीन विकेट लिए । उनले ड्यारेल मिचेल, केन विलियम्सन र ग्लेन फिलिप्सलाई प्याभिलियनको बाटो देखाएका थिए । हेजलउडले विलियम्सनको क्याच छोडेका थिए । तर, पछि भने कीवी कप्तानलाई प्याभिलियन पठाए ।

एडम जाम्पा

एडम जाम्पाले किवी टोलीका ब्याट्सम्यानलाई हात खोल्ने मौका दिएनन् । उनले चार ओभरमा २६ रन दिएर एक विकेट लिए । जाम्पाले मार्टिन गुप्टिललाई आउट गरे । गुप्टिलको यो विकेट अष्ट्रेलियाका लागि निकै महत्वपूर्ण थियो। किनकि यदि गुप्टिलले लय समातेको भए अष्ट्रेलियाले कठिनाइको सामना गर्नुपर्ने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर