२७ मध्ये १० बैंकले लाभांश घोषणा गर्न बाँकी, पाँच बैंकको लाभांश क्षमता ६ प्रतिशतभन्दा कम (सूचीसहित) – Nepal Press

२७ मध्ये १० बैंकले लाभांश घोषणा गर्न बाँकी, पाँच बैंकको लाभांश क्षमता ६ प्रतिशतभन्दा कम (सूचीसहित)

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २७ वाणिज्य बैंकमध्ये १६ बैंकले लाभांश घोषणा गरिसकेका छन् । राष्ट्रिय वाणिज्य बैंकबाहेक अब १० वटा वाणिज्य बैंकले लभांश घोषणा गर्न बाँकी छ ।

लाभांश घोषणा गरेका बैंकमध्ये नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यसैगरी दोस्रोमा हिमालयन बैंकले २६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यसैगरी सानिमा बैंकले १७.८९ प्रतिशत, नेपाल बैंक लिमिटेडले १७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत, सिटिजन्स बैंकले १६ प्रतिशत, एनआईसी एसिया बैंकले १५.७९ प्रतिशत, एनएमबि बैंकले १५.८ प्रतिशत, नेपाल बङ्गलादेश बैंकले १५.५ प्रतिशत, सिद्दार्थ बैंकले १५ प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत, ग्लोबल आईएमई बैंकले १३.५ प्रतिशत, स्टाण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत, एभरेष्ट बैंकले १०.३२ प्रतिशत र कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका १६ बैंकमध्ये ४ वाणिज्य बैंकहरुको बुक क्लोज भइसकेको छ । सिटिजन्स इन्टरनेशनल बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक र सानिमा बैंकको बुक क्लोज भइसकेको छ । नेपाल बंलादेश बैंकको मंसिर २ गतेका लागि साधारणसभाको म्याद तोकिएको छ भने अन्य ३ बैंकको साधारणसभाले लाभांश पारित गरिसकेको छ ।

लाभांश घोषणा गर्न बाँकी बैंकहरुमा प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सिभिल बैंक, सेन्चुरी बैंक, एनसीसी बैंक, सनराइज बैंक, लक्ष्मी बैक, मेघा बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक रहेका छन् ।

लाभांश घोषणा गर्न बाँकीमध्ये प्रभु बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकबाट लगानीकर्ताले राम्रै प्रतिफल हासिल गर्ने अवस्था छ । यी बैंकहरु गत वर्ष राम्रै मुनाफा आर्जन गर्न सफल बैंकमध्ये पर्छन् ।

सनराइज बैंक, सिभिल बैंक र सेन्चुरी बैंकको लाभांश वितरणको इतिहास खासै सन्तोषजनक छैन भने नाफा पनि तुलनात्मकरुपमा कम कमाउने बैंकको सूचीमा परेका छन् ।

प्राइम कमर्सियल बैंक

प्राइम बैंकले प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

यस बैंकको चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ छ । यस हिसाबमा यस बैंकले १६.५४ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राख्छ । बैंकको जगेडाकोषमा ५ अर्ब ६ करोड रुपैयाँ र रिटेन्ड अर्सिङमा २ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

प्राइम बैंकको विगत १० वर्षको लाभांश इतिहास हेर्ने हो सबैभन्दा धेरै २७ प्रतिशत लाभांश दिएको छ । आर्थिक वर्ष २०७६/७७ मा प्राइम बैंकले १५ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७४/७५ मा १६/१६ प्रतिशत लाभांश दिएको थियो ।

प्रभु बैंक

प्रभु बैंक र किष्ट बैंक मर्जर भएर प्रभु बैंक बनेपश्चात यस बैंकले ३ पटक लाभांश वितरण गरिसकेको छ । आर्थिक वर्ष २०७४÷७५ मा ८.४२ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा १६.८४ प्रतिशत र आर्थिक वर्ष २०७६/७७ मा १०.५२ प्रतिशत लाभांश वितरण गरेको छ ।

प्रभु बैंकले दुईपटक राइट सेयर जारी गरेको छ । २०७२ चैत २० गते १० बराबर २ कित्ता र २०७४ फागुन २२ मा १० बराबर ४ कित्ता राइट सेयर जारी गरेको थियो ।

गत आर्थिक वर्ष प्रभु बैंकको अपरिष्कृत वित्तीय विवरणनुसार २ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा वितरणयोग्य मुनाफा १ अर्ब ४८ रुपैयाँ रहेको छ । यस बैंकको सञ्चित जगेडा कोषमा ४ अर्ब ४५ करोड रुपैयाँ र गत वर्षको सञ्चित नाफा १ अर्ब ६१ करोड रुपयाँ रहेको छ ।

बैंकको कुल १० अर्ब ३४ करोड रुपैयाँ यस चुक्ता पुँजी रहेको छ । गत वर्षको वितरणयोग्य नाफाको सबै वितरण गर्दा बैंकले अधिकतम् १४.३१ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको छ ।

मेघा बैंक

मेघा बैंकले गत आर्थिक वर्ष करिब २ अर्ब ३० करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेकोमा वितरणयोग्य नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । बैंकको कुल चुक्ता पुँजी करिब १४ अर्ब ६५ करोड रुपैयाँ रहेकाको मेघा बैंकले अधिकतम ११ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राख्दछ् ।

यस बैंकको जगेडाकोषमा ३ अर्ब ८३ करोड र रिटेण्ड अर्निङ करिब १ अर्ब ५२ करोड रुपैयाँ रहेको देखिन्छ । यस बैंकको सबैभन्दा धेरै एकपटक १३.९५ प्रतिशत लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा १३.०५ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा ११.७५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कृषि विकास बैंक

कृषि विकास बैंक नेपाल सरकार तथा निजी क्षेत्रको समेत लगानी रहेको बैंक हो । आर्थिक वर्ष २०७७/७८ मा वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको यस बैंकको वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रहेको छ ।

कृषि विकास बैंकको कुल चुक्ता पुँजी करिब ११ अर्ब रहेकाले गत वर्षको मुनाफाबाट अधिकतम् १५.७५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको छ । यस बैंकको जेगेडाकोषमा ११ अर्ब २० करोड र सञ्चित नाफा २ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।

यस बैंकको लाभांश इतिहास हेर्ने हो भने विगत ८ वर्षमा सबैभन्दा धेरै ३१.५८ प्रतिशत लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा यस बैंकले १५.७८ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा ३० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७५/७६ पछिका लगातार ३ वर्षमा करिब २१ प्रतिशतका दरले लाभांश वितरण गरेको देखिन्छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकको गत आर्थिक वर्ष १ अर्ब ५४ करोड रुपैयाँ नाफामध्ये वितरणयोग्य नाफा १ अर्ब रहेको छ । यस बैंकको कुल चुक्ता पुँजी १० अर्ब ६८ करोड रहेकोले गत वर्षको नाफाबाट करिब ९.३६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता देखिन्छ ।

विगत ९ वर्षको लाभांश वितरणको अवस्था हेर्ने हो भने यस बैंकले सबैभन्दा धेरै २१ प्रतिशत लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा लक्ष्मी बैकले ११.५ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

पाँच बैंकको लाभांश क्षमता छ प्रतिशतभन्दा कम

सिभिल बैंक, एनसीसी बैंक, सेन्चुरी बैंक, सनराइज बैंक र नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट खासै ठूलो लाभांश घोषणा गर्ने संभावना छैन ।

गत वर्षको सबैभन्दा कम मुनाफा आर्जन गर्ने बैंकको पहिलो तीन सूचीमा सिभिल बैंक, सेन्चुरी बैंक र नेपाल एसविआई बैंक रहेका छन् । सिभिल बैंकले करिब ५६ करोड, सेन्चुरी बैंकले ७५ करोड र नेपाल एसबिआई बैंकले ९६ करोड मात्रै मुनाफा आर्जन गरेका थिए । एनसीसी बैंकले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब २७ करोड र सनराइज बैंकले १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको थियो ।

जसमध्ये सेन्चुरी बैंकको वितरणयोग्य नाफा ५९ करोड रहेको तथा कुल चुक्ता पुँजी ९ अर्ब ३ करोड रहेकाले गत वर्षको मुनाफाबाट अधिकतम ६.३ प्रतिशत मात्रै लाभांश वितरण गर्ने क्षमता रहेको देखिन्छ ।

सिभिल बैंकसँग करिब ४९ करोड रुपैयाँ वितरणयोग्य नाफा र ८ अर्ब ६४ करोड सेयर पुँजी रहेकाले उसले ५.६७ प्रतिशत मुनाफा वितरण गर्ने क्षमता राख्दछ ।

यसैगरी एनसीसी बैंकले गत वर्षको मुनाफाबाट करिब ६.८८ प्रतिशत, नेपाल एसविआई बैंकको ३.५८ प्रतिशत र सनराइज बैंकको ५.६१ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछन् । यद्यपि नाफा कम आर्जन गरेका वाणिज्य बैंकहरुले अघिल्लो वर्षको जगेडा कोषको प्रयोग गरी केही बढाएर लाभांश वितरण गर्न सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *