ईंग्ल्यान्डमाथि जितका बाबजुद दक्षिण अफिका विश्वकपबाट बाहिर, अष्ट्रेलिया सेमिफाइनलमा – Nepal Press

ईंग्ल्यान्डमाथि जितका बाबजुद दक्षिण अफिका विश्वकपबाट बाहिर, अष्ट्रेलिया सेमिफाइनलमा

काठमाडौं । शक्तिशाली ईंग्ल्यान्डविरुद्ध रोमाञ्चक जित हात पारे पनि दक्षिण अफ्रिका टि–२० विश्वकपबाट बाहिरिएको छ । सुपर १२ मा समान ४ जित हासिल गरेको अष्ट्रेलिया रनरेटका आधारमा सेमिफाइनलमा पुग्यो ।

हिजो भएको म्याचमा ईंग्ल्यान्डलाई दक्षिण अफ्रिकाले १० रनको झिनो अन्तरले हरायो । यदि ईंग्ल्यान्ड १३१ वा त्योभन्दा कम रनमा रोकिएको भए दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्ने समिकरण थियो । तर, १९० रनको लक्ष्य पछ्याउने क्रममा ईंग्ल्यान्डले १७९ रन बनाएपछि अष्ट्रेलियाको भाग्य खुलेको हो ।

टस जितेर ईंग्ल्यान्डले पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । रसी भान डेर डसेन र एडन म्याक्रमको उत्कृष्ट ब्याटिङको मद्दतमा दक्षिण अफ्रिकाले १८९ रनको विशाल स्कोर खडा गर्यो । उक्त स्कोरलाई पछ्याउने क्रममा ईंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १७९ रन मात्रै बनाउन सक्यो ।

ईंग्ल्यान्डका धेरै ब्याट्सम्यानहरुले राम्रो सुरुवात गरे पनि ठूलो स्कोर कसैले बनाउन सकेनन् । दक्षिण अफ्रिकाका कागिसो रबाडाले सर्वाधिक ३ विकेट लिएका थिए ।

अन्तिम ओभरमा जितका लागि ईंग्ल्यान्डलाई १४ रन आवश्यक थियो । तर, अघिल्ला तीन ओभरमा अत्यन्त महंगा बनेका रबाडाले अन्तिम ओभरमा घातक बलिङ गर्दै ह्याट्रिक विकेट लिए । उक्त ओभरमा उनले ३ रन मात्रै खर्चेका थिए ।

हारका बाबजुद ईंग्ल्यान्डले समूह १ बाट विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । अब अर्को समूहबाट उसले भारत, अफगानिस्तान र न्यूजिल्यान्डमध्ये एकसँग सेमिफाइनल खेल्नेछ । अष्ट्रेलियाले पाकिस्तानसँग सेमिफाइनल खेल्ने निश्चित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर