ट्वान्टी-२० विश्वकपको सेमीफाइनलमा पुग्यो इंग्ल्याण्ड – Nepal Press

ट्वान्टी-२० विश्वकपको सेमीफाइनलमा पुग्यो इंग्ल्याण्ड

एजेन्सी । गत संस्करणको फाइनलमा पराजित भएको इंग्ल्याण्ड जारी आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।

समूह १ अन्तर्गत लगातार चौथो जित निकाल्ने क्रममा इंग्ल्याण्डले गएराति श्रीलंकालाई २६ रनले हरायो । टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ओपनर जस बटलरको शतकीय सहयोगमा निर्धारित ओभरमा १६३–४ को स्कोर खडा गरेको थियो ।

इंग्ल्याण्डले श्रीलंकाविरुद्ध शुरुआत भने इंग्ल्याण्डले राम्रोसँग गर्न सकेको थिएन । जेसन रोयले ९ रनको स्कोरमै आउट भए । डेभिड मलान ६ र जोनी बेरिस्टो खाता नखोली आउट भएपछि इंग्ल्याण्डले ३५ रनमा तेस्रो विकेट फालेको थियो ।

तर कप्तान इयोन मोर्गनसँग मिलेर बटलरले ७८ बलमा १ सय १२ रनको शतकीय साझेदारी गरे । चौथो विकेटका रुपमा १९औं ओभरमा आउट भएका मोर्गनले ४० रनको योगदान गरे ।

अविजित रहेका बटलरले ६७ बलमा १०१ रनको पारी खेले । उनले अन्तिम बलमा छक्का प्रहार गरी शतक पूरा गरेका हुन् । आफ्नो पारीमा उनले ६ चौका र ६ छक्का प्रहार गरेका थिए ।

जवाफमा श्रीलंका १९ ओभरमा १३७ रनमा समेटियो । खराव सुरुवात गरेको श्रीलंकाको स्कोर ५७ रन हुँदा चार विकेट झरेको थियो । उसका ओपनर पाथुम निसाका १ रनमा आउट भए भने कुशल परेराले ७ रन मात्र बनाए । त्यसपछि अभिस्का फर्नान्डो १३ रनमा पेभेलियन फर्किदा चरिथ असालांका २१ रनमा आउट भए ।

भानुका राजापाक्षे र कप्तान दशुन सानाकाले समान २६ रनको योगदान गरे । बानिन्दु डी शिल्भाले ३४ रन जोडे । श्रीलंकाका अन्तिमक्रमका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । श्रीलंकाको पारीलाई कमजोर बनाउन मोयन अली, आदिल रासिद र क्रिस जोर्डनले दुई दुई विकेट लिए ।

जारी प्रतियोगितामा श्रीलंकाको यो तेस्रो हार हो । उसको चार खेलमा अहिलेसम्म मात्र दुई अंक रहेको छ ।

यो जितपछि इंग्ल्याण्डले चार खेलमा आठ अंक बनाएको छ भने उसले एक खेल अगाडी नै सेमिफाइनलमा स्थान बनाएको छ । अब समूह १ बाट सेमिफाइनलमा पुग्नका लागि दक्षिण अफ्रिका र अष्ट्रेलियबीच होडबाजी चल्नेछ ।

यो हारले श्रीलंकाको पनि अन्तिम चारको यात्रा समाप्त भएको छ । यतिमात्र होइन, वेष्ट इन्डिजको संभावना निकै कम बनेको छ भने बंगलादेशको यात्रा सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर