आँशु पुछ्दै सुशान्त खत्रीले भने : बिनाकसुर हिरासतमा राखियो, झापड हानियो – Nepal Press

आँशु पुछ्दै सुशान्त खत्रीले भने : बिनाकसुर हिरासतमा राखियो, झापड हानियो

काठमाडौं । चर्चित डान्सर सुशान्त खत्रीले आफूलाई प्रहरीले बिनाकसुर नियन्त्रणमा लिएर झापड हानेको दावी गरेका छन् । फेसबुक लाइभमा आफ्नो पीडा पोख्दै प्रहरीको व्यवहारबाट मन दुखेको बताए ।

खत्रीका अनुसार उनलाई काठमाडौंको एउटा क्लवबाट नियन्त्रणमा लिइएको थियो । त्यहाँबाट सोह्रखुट्टे प्रहरीमा वृत्तमा लगेर एक घन्टा हिरासतमा राखिएको उनको भनाइ छ । उनले सुनाएको घटना विवरण यस्तो छ :

म हिजो राति एउटा नाइट क्लवमा साथीहरुसँग थिएँ । बन्द हुने टाइम भएपछि निस्कने सुरसार गरिरहेका थियौं । यत्तिकैमा प्रहरीहरु आएर हामीलाई बाहिर निस्किन दवाव दिए ।

मेरो विल तिर्न बाँकी थियो । त्यहाँ अलिकति कन्फ्यूजन भएका थियो । एकजना भाइले उहाँको विल भइसक्यो भनेछ । तर मेरो बाँकी थियो । मैले विल तिरेर निस्किहाल्छु भन्दा प्रहरीले मलाई हात हाले । मेरो काँधमा समातेर घिसार्दै बाहिर लैजान खोज्नुभयो ।

मैले सोधेँ, मेरो गल्ति के छ ? यसरी तपाईले दुव्र्यवहार गर्न पाउनुहुन्न । मेरो ज्याकेट काउन्टरमा छ । मास्क ज्याकेटमा छ । लिएर आउँछु । मात्र भन्दा एक्कासी उहाँले मेरो गालामा कडा थप्पड हान्नुभयो । निकै कडा थप्पड थियो त्यो । मैले यस्तो थप्पड जीवनमा कहिल्यै खाएको थिइनँ ।

त्यसपछि मलाई भ्यानमा हालेर सोह्रखुट्टे प्रहरी स्टेसनमा लगियो । त्यहाँ मेरो मोबाइलहरु पनि खोसियो । घरमा बुवाआमालाई फोन गर्न पनि अनुमति दिइएन । मलाई करिब एक घन्टासम्म जेलमा राखेर बल्ल छोडियो ।

म सेलेब्रिटी भएर होइन, एउटा जनताको रुपमा भन्दैछु, कसैलाई पनि प्रहरील यसरी हात उठाउन मिल्दैन । प्रहरी जनताको सुरक्षाका लागि हो । यदि प्रहरीबाटै असुरक्षित हुनुपर्छ भने कसको अपेक्षा गर्ने ?

म १२ वर्षदेखि यो इन्डष्ट्रीमा छु । नेपालका नाम राख्न भनेर विदेशमा संघर्ष गरिरहेको छु । तर, आफ्नै देशको प्रहरीबाट यस्तो व्यवहार हुँदा मन दुखेको छ । मेरो प्रहरीप्रति उच्च सम्मान थियो । मेरो बुवा पनि रिटायर्ड पुलिस हो । आजको घटनाले मलाई निकै नराम्रो छाप परेको छ । प्रहरीलाई हेर्ने दृष्टिकोण नै बदलिएको छ ।

म प्रहरीबाट कलको पर्खाइमा छु । यदि कल आएन भने कानुनी कदम चाल्ने छु । म यत्तिकै चुप बस्दिनँ । ममाथि एकदमै गलत भएको छ । म यत्तिकै मुख छोपेर भाग्दिनँ । चुप लागेर बस्दिनँ । विदेशमा बसे पनि नेपालमा जन्मेको र हुर्केको हुँ । मलाई मेरो देशको माया छ । तर, आज असाध्यै मन दुख्यो र रातभरि सुतेको छैन । म चाहन्छु जनताले प्रहरीलाई सम्मान दिएका छन् भने, प्रहरीले पनि जनतालाई सम्मान दिनुपर्छ ।

को हुन् सुशान्त खत्री ?

काठमाडौंको कपननिवासी सुशान्त खत्रि युवापुस्तामा निकै लोकप्रिय डान्सर हुन् । नेपाल र भारतमा उनका लाखौ फ्यान छन् । उनी भारतको चर्चित टिभी रियालिटी शो ‘डान्स प्लस सिजन २’ का फाइनलिस्ट थिए । स्टार प्लसबाट प्रशारण हुने सोही कार्यक्रममा उनले पछि निर्णायकको भूमिका समेत निभाएका थिए । त्यसअघि सन् २०१२ मा भारतको चर्चित रियालिटी शो ‘इन्डियाज सुपरस्टार’मा छनोट भएपछि सुशान्तको चर्चा सुरु भएको थियो । उक्त कार्यक्रमको टप १० मा पुगेर उनी बाहिरिएका थिए । सुशान्त संगीतमा पनि सक्रिय छन् । उनको पहिलो गीत ‘सानुमाया’ सन् २०१९ मा रिलिज भएको थियो ।

प्रतिक्रिया

One thought on “आँशु पुछ्दै सुशान्त खत्रीले भने : बिनाकसुर हिरासतमा राखियो, झापड हानियो

  1. नेपालको प्रहरी तालीम विहिन छ यसलाई ‌मानवअधिकारसम्वन्धि तालीमको खाँचो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *