सामाजिक सञ्जाल खनिएपछि शामीलाई कप्तान कोहलीको समर्थन – Nepal Press

सामाजिक सञ्जाल खनिएपछि शामीलाई कप्तान कोहलीको समर्थन

काठमाडौं । टी-२० विश्व कपअन्तर्गत गत आइतबार भएको खेलमा पाकिस्तानसँग भारत १० विकेटले पराजित भएपछि भारतीय मुस्लिम बलर मोहम्मद शामीले सामाजिक सञ्जालमा चर्को आलोचना र दुर्ब्यबहार भोग्नु परेको थियो । यद्यपि, उक्त दुर्ब्यबहारको आलोचना गर्दै भारतीय कप्तान विराट कोहलीले जवाफ दिएका छन् ।

शामी त्यो खेलमा भारतका बलरमध्ये सबैभन्दा महँगो सावित भएका थिए । उनले ३.५ ओभरमा ४३ रन खर्चेर कुनैपनि विकेट लिन सकेका थिएनन् । त्यसपछि उनको सामाजिक सञ्जाल विशेष गरि इन्स्टाग्राममा उनीमाथि समर्थकहरू खनिएका थिए । जसमा धेरै जसो मुस्लिम धर्मको विरुद्धको पूर्वाग्रह (इस्लामोफोविया) सँग जोडिएको थियो ।

‘हामीले मैदानमा खेल्नु एक राम्रो कारण छ । व्यक्तिगत रूपमा बोल्ने साहस नभएका र सामाजिक सञ्जालको कायरहरू जस्तो होइन,’ कोहलीले न्युजिल्यान्डविरुद्धको खेलअघि भने, ‘मानिसहरूको मजाक बनाएर उनीहरू आफ्नो पहिचान लुकाएर सामाजिक सञ्जालमार्फत् पछि लाग्छन् । जुन आजको दुनियामा मनोरञ्जनको स्रोत बनेको छ । जुनकुरा सारै दुर्भाग्यपूर्ण र दुखद छ । किनभने यो शाब्दिक रूपमा मानव क्षमताको सबैभन्दा तल्लो स्तर हो ।’

कोहलीले भने, ‘मेरोलागि कसैलाई धर्मको नाममा आक्रमण गर्नु मानिसले गर्नसक्ने एकदमै तुच्छ कार्य हो । सबैलाई आफ्नो विचार र परिस्थितिहरूको बारेमा के महसुस गर्ने त्यो अधिकार छ, तर मैले व्यक्तिगत रूपमा कसैलाई पनि घर्मको आधारमा भेदभाव गर्ने कहिल्यै सोचको छैन । यो मानिसका लागि निकैनै पवित्र र व्यक्तिगत कुरा हो र यसलाई यहि छोड्नु पर्छ ।’

कोहलीले सबै टोली शामीको पक्षमा रहेको बताए । ‘टोलीको सम्बन्ध यति बलियो थियो कि, यस प्रकारका आक्रमणहरुले प्रभाव पार्ने कुनै सम्भावना छैन,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर