फिल्ममा फर्किए राजेश, पल र मलिका : धम्पुसमा ‘सत्यम’ सुटिङ कार्यशाला सुरु – Nepal Press

फिल्ममा फर्किए राजेश, पल र मलिका : धम्पुसमा ‘सत्यम’ सुटिङ कार्यशाला सुरु

काठमाडौं। कलाकारहरु राजेश हमाल, पल शाह र मलिका महत कोरोना महामारीपछि फिल्मको काममा फर्किएका छन् । यसबीचमा उनीहरु म्युजिक भिडिओसहितका कामहरुमा व्यस्त थिए ।

बिहीबारदेखि कास्कीको धम्पुसमा सुरु भएको फिल्म सत्यमको कार्यशालामा उनीहरु ज्वाइन भएका छन् । आज उक्त कार्यशालाबाट सार्वजनिक भएको तस्बिरमा राजेश, पल, मलिकासहित फिल्मका अन्य सदस्यलाई आकर्षक माछापुच्छ्रे्र हिमालको पृष्ठभूमिमा देख्न सकिन्छ ।

कोरोना महामारीपछि यी तीनैजना कलाकारले पहिलोपटक सत्यममा काम थालेका हुन् । बिग बजेटको यो नेपाली फिल्मको अधिकांश छायांकन पर्यटकीय नगरी पोखरामा हुँदैछ भने त्यहाँ भव्य सेटको निर्माण पनि भएको छ । उक्त सेटमा हेलिकोप्टर दुर्घटनाजस्ता धेरै सिनेम्याटिक इभेन्टलाई कैद गरिने भएको छ ।

हमालको मुख्य भूमिका रहने यो फिल्ममा पल र मलिकाले अनस्क्रिन रोमान्स गर्नेछन् । गतवर्ष ‘फूलबुट्टे सारी’ गीतको म्यूजिक भिडिओमा अभिनय गरेपछि दर्शकको लोकप्रिय’ बनेको यो जोडीले पहिलो पटक फिल्ममा काम गर्न लागेको हो ।

अर्को चर्चित फिल्म कबड्डी ४ को छायांकन सुरु भएको केही दिनमै सत्यमले प्रि–प्रोडक्सन थाल्नुले महामारीले थलिएको नेपाली फिल्म लयमा फर्कने विश्वास गरिएको छ । निर्देशक शंकर कार्कीले फिल्मलाई गुणस्तरीय बनाउन कुनै सम्झौता नगरिने बताए । ‘स्टारकास्टसँगै हामीले पटकथा लेखनमा पनि मिहेनत गरेका छौं’ पोखरामा भेटिएका निर्देशक कार्कीले नेपाल प्रेसलाई भने, ‘नेपाली फिल्ममा यो प्रोजेक्ट कोशेढुंगा हुनेछ ।’

फिल्ममा अनुपविक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका हुनेछ भने । पर्दामा दर्शकले हमाल र अनुपको सिनेम्याटिक भीडन्त हेर्न पाउनेछन् । यसअघि उनीहरुले फिल्म ‘सौर्य’ मा अभिनय गरेका थिए । फिल्ममा हमालको चार फरक लुक्स रहनेछ ।

नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने‘ सत्यम्’ लाई रेशम सापकोटाले लेखेका हुन् भने सापकोटा नै निर्माता हुन् ।
यो चलचित्रबाट महानायक राजेश हमालले चार वर्षपछि कमब्याक गर्न लागेका हुन् । यसकारण पनि ‘सत्यम्’ निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत बनेको छ । आउँदो तिहारपछि माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने चलचित्रको इनडोरका महत्त्वपूर्ण सिनहरु छायांकन भने सेटमा खिचिनेछ । निर्देशक शंकर कार्कीका अनुसार, निर्माणधिन भव्य सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु छायांकन गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *