विश्वकप छनाेट: ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिनाको सहज जित – Nepal Press

विश्वकप छनाेट: ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिनाको सहज जित

एजेन्सी । फिफा विश्वकपका लागि दक्षिण अमेरिकी छनोटमा ब्राजिलको शतप्रतिशत जितयात्रा पूर्णविराम लागेको छ । अन्य खेलहरुमा अर्जेन्टिनाले उरुग्वेमाथि सहज जित निकाल्दा चिली, भेनेजुएला र बोलिभियाले पनि आआफ्नो खेल जितेका छन् ।

यसअघिका ९ खेलमा शतप्रतिशत जित निकालेको ब्राजिलले आज विहान कोलम्बियासँग गोलरहित बराबरी खेलेर अंक बाँडेको हो । कोलम्बियाको घरेलु मैदानमा ब्राजिललाई जित निकाल्न निकै नै कठिन भयो ।

ब्राजिलका लागि फ्रेड, राफिन्हा र एन्थोनीले गोलका उत्कृष्ट अवसर खेर फालेका थिए । यो बराबरीले ब्राजिललाई शीर्ष स्थानमा कुनै फरक पार्ने छैन । १० खेलबाट २८ अंक जाडेको ब्राजिल दोस्रो स्थानको अर्जेन्टिनाभन्दा ६ अंकले बढी छ । कोलम्बिया १३ अंकसहित तेस्रो स्थानमा छ ।

नेपाली समयअनुसार आज विहान सम्पन्न खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३–० गोलअन्तरले हरायो । अर्जेन्टिनाले पहिलो हाफमा २ गोल गर्दा सुपरस्टार लियोनल मेस्सीले अग्रता दिलाएका थिए । रोड्रिगो डी पाउल र लोउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि गोल गरेका हुन् ।

लगातार कमजोर प्रदर्शन गरिरहेको चिलीले ११औं खेलमा दोस्रो जित हासिल गरेको छ । उसले पाराग्वेलाई २–० ले हरायो । ११ खेलबाट १० अंक जोडेर तालिकाको आठौं स्थानमा छ ।

आजै भएका अन्य खेलमा भेनेजुएलाले इक्वेडरलाई तथा बोलिभियाले पेरुलाई पराजित गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर