वीरेन्द्रनगरमा ‘दसैं सपिङ’ गर्नेको घुइँचो, महंगी बढेको उपभोक्तको गुनासो – Nepal Press

वीरेन्द्रनगरमा ‘दसैं सपिङ’ गर्नेको घुइँचो, महंगी बढेको उपभोक्तको गुनासो

सुर्खेत । विगतका दुई वर्ष कोरोना महामारीका कारण निरस बनेको सुर्खेतमा यसपालि दसैंको चहलपहल बढेको छ । बजारमा दसैंका लागि किनमेल गर्नेको भीड पनि बढेको छ । तर सामान महंगो भएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् ।

बजारमा किनमेल गर्न आएका चौकुने गाउँपालिका सुुर्खेतका मनोज ढुंगाना भन्छन्, ‘पोहोर कोरोना महामारीका कारण दसैं रमाइलो भएन । यसपालि रमाइलोसँग मनाउने योजना बनाएको हो । तर, बजार निकै महंगिएको रहेछ ।’

सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत दैलेखका सुरेश थापा पनि अहिले घर जाने चटारोबीच बजारमा दसैंका लागि किनमेलमा व्यस्त छन् । घरबाट पैसा पठाइदिएर किनमेलका लागि निकिस्कएका उनले पनि बजार महंगो भएको गुनासो गरे ।

वीरेन्द्रचोकमा सामान खरिद गरिरहेका सुरेशले भने, ‘सोचेभन्दा सबै सामान महंगो रहेछ ।’

शनिबार अन्य दिनको भन्दा धेरै भीड थियो वीरेन्द्रनगरमा । सुन व्यवसायीलाई मात्रै होइन, कपडा सिलाइको काम गर्नेहरुलाई पनि भ्याइनभ्याइ थियो । तर उपभोक्ता भने जहाँ पनि सामान महंगो भएको बताइरहेका थिए ।

बजार आएकी वीरेन्द्रनगर ४ की मैना विश्वकर्मा भन्छिन्, ‘दसैं व्यापारीलाई कमाउने मौका हुँदो रहेछ, हामीलाई भने सामान किन्नै सास्ती ।’

बजारमा महंगी बढेको उपभोक्ताको गुनासोपछि जिल्ला प्रशासन कार्यालय सुर्खेत, नगरपालिका तथा गाउँपालिका, प्रहरी तथा अनुगमनकारी निकायले बजारदेखि गाउँका पसलहरुमा दसैंलक्षित अनुगमनलाई तीव्रता दिएका छन् ।

‘हामीले विभिन्न पालिकासँगको सहकार्यमा दशैंमा उपभोक्ता नठगिउन भनेर विभिन्न निकायसँगको समन्वयमा अनुगमनमा तीव्रता दिएका छौं’ प्रमुख जिल्ला अधिकारी छवि रिजाल भन्छन्, ‘जनगुनासो आएको खण्डमा तत्काल रेस्पोन्स गर्छौं ।’

उनले बजार अनुगमनका क्रममा मूल्य सूची नभेटिएको, म्याद गुज्रेका खानेकुरा राखिएको पाइएको बताए । उनले विनादर्ता पसल तथा व्यवसाय सञ्चालन गरेको पनि पाइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *