कपिलवस्तुको झाडापखालाका बिरामीमा हैजाको जीवाणु भेटियो – Nepal Press

कपिलवस्तुको झाडापखालाका बिरामीमा हैजाको जीवाणु भेटियो

रुपन्देही । ६ दिनअघि कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाका विरामीहरुको दिसाको नमुनामा हैजाको जीवाणु भिब्रियो कलेरा नामक व्याक्टेरिया फेलापरेको छ ।

यसअघि झाडापखाला प्रभावित क्षेत्रमा खानेपानी संस्थानले वितरण गरेको र चापाकलको पानी परीक्षण गर्दा कोलिफर्म व्याक्टेरिया फेलापरेको थियो । पानी परीक्षणको रिपोर्टमा अत्यधिक मात्रामा कोलिफर्म व्याक्टेरिया पाइएकोमा विरामीहरुको दिसाको रिपोर्टमा भिब्रियो कलेरा नामक व्याक्टेरियासमेत देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

झाडापखाला प्रभावित क्षेत्रमा विरामीहरुको उपचार तथा अन्य व्यवस्थापनमा खटिएका स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन्ट उमेशचन्द्र घिमिरेले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परिक्षणको लागि पठाइएको दिसामा भिब्रियो कलेरा भेटिएको फोनमार्फत जानकारी गराएपनि रिपोर्ट आइनपुगेको जानकारी दिए ।

नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट वितरण गरेका धारा र ४० फिटभन्दा माथि र १ सय फिटभन्दा कममा गाडेको हाते पम्पबाट परीक्षणको लागि पानीको नमुना संकलन गरिएको थियो । तीमध्ये १ सय फिटको पम्पमा जीवाणु फेला नपरेपनि संस्थानले वितरण गरेको र ४० फिटसम्मको हाते पम्पको पानीमा धेरैमात्रामा कोलिफर्म व्याक्टेरिया फेला परेको स्वास्थ्य कार्यालयले बताएको छ ।

कार्यालयका अनुसार संस्थानको खानेपानी र ४० फिटसम्मको हातेपम्पमा २ प्रतिशत कोलिफर्म भेटिएको छ । कोलिफर्म व्याक्टेरिया दिसामा पाइने जीवाणु भएको र पानीमा कसरी मिश्रण भयो भन्ने यकिन भइनसकेको घिमिरेले बताए । कृष्णनगर नगरपालिकाका वडा नं. ७, ८ र ९ का विभिन्न गाउँमा सोमबार सांझदेखि फैलिएको झाडापखालबाट हालसम्म करिब पाँचसय जना बिरामी भएका छन् । ती मध्ये सिकिस्त अवस्थाका ३४ जनालाई अन्यत्र रिफर गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले अहिलेसम्म पौने ५ सय बिरामी परेको, दुई जनाको मृत्यु भएको, शुक्रबारसम्म ६५ जना अस्पतालमा उपचार गराइरहेको र अन्य बिरामी उपचारपछि घर फर्किएको जानकारी दिएको छ । स्थानीयले सरकारी अस्पतालबाहेक निजी क्लिनिकमा उपचार भएकाले तथ्यांक नमिल्ने बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *