कांग्रेसले नाम टुंग्याउन नसकेपछि लुम्बिनीमा मन्त्रीको सपथ रोकियो – Nepal Press

कांग्रेसले नाम टुंग्याउन नसकेपछि लुम्बिनीमा मन्त्रीको सपथ रोकियो

रुपन्देही । नेपाली कांग्रेसले दुई मन्त्रीको नाम टुंग्याउन नसकेपछि लुम्बिनी मन्त्रिपरिषद् विस्तार रोकिएको छ । आज दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भए पनि गठबन्धनभित्र मन्त्रीको भागबण्डा नमिल्दा स्थगित भएको हो ।

नाम टुंगिएकालाई आजै सपथका लागि निम्तोसमेत दिइसकिएको थियो । सरकारका प्रवक्ता कृष्णध्वज खड्काले छलफल नटुंगिएकाले सपथ सपथ रोकिएको र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताए ।

सरकारमा जानका लागि माओवादीले मन्त्री टुंग्याएको छ । कांग्रेसका केही मन्त्रीको समेत नाम फाइनल भएको छ । एक मन्त्री र एक राज्यमन्त्रीमा कुरा मिलेको छैन ।

सरकारमा माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री टुंगो लागेको छ । नेकपा (एकीकृत समाजवादी)बाट रमा घर्ती मन्त्री बन्नेछिन् ।

माओवादीले दाङकी बिमला खत्री वलीलाई राज्यमन्त्री बनाउने निर्णय गरेपनि आन्तरिक किचलो शुरु भएको छ । दाङका सांसद इन्द्रजित थारु, दामा शर्माले विमलालाई जसरी पनि मन्त्री बनाउनुपर्ने दवाव दिइरहे पनि अन्य सांसदहरुले पुरानालाई प्राथमिकता दिन माग गरेका छन् ।

उनको विषयमा एमालेले कारबाहीको माग गरिरहेकाले माओवादीलाई दोहोरो दबाब परेको छ । उनी नेकपा हुँदा सूर्य चुनाव लिएर जितेकी पछि एमाले हुँदै माओवादी केन्द्र रोजेकी सांसद हुन् ।

कांग्रेसले चार मन्त्री र एक राज्यमन्त्री पाउने टुंगो लागेको छ । कांग्रेसले यसअघि नै पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रीमा दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको छ ।

वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीमा रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानामध्ये कसलाई पठाउने भन्नेबारे टुंगो लाग्न बाँकी छ । यस्तै काँग्रेस भागमा परेको राज्यमन्त्रीको नाम पनि टुंगो लागेको छैन । प्रदेशमा टुंगो लगाउन नसकेपछि कांग्रेस केन्द्रले नै मन्त्रीको टुंगो लगाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर