नाम मात्रको सुपथ मूल्य पसल ! न पर्याप्त सामान, न धेरै छुट – Nepal Press

नाम मात्रको सुपथ मूल्य पसल ! न पर्याप्त सामान, न धेरै छुट

काठमाडौं । सरकारले हरेक वर्षको चाडपर्वलाई लक्षित गर्दै दसैंअघि ‘सुपथ मूल्य पसल’ सञ्चालन गर्दै आएको छ । सहुलियत दरमा खाद्यान्न पाइने भनेर उपभोक्ता पनि उत्साहित हुने गर्छन् । तर, यस्ता पसलले जनअपेक्षा पूरा गर्न सकेको छैन ।

सहुलियत पसलको जिम्मेवारी पाएकोे खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङले ठूलो सहुलियत दिएका छैनन् । न त यस्ता पसलमा सामान नै पर्याप्त हुन्छ ।

मंहगीले ढाड सेकिएका नेपाली चाडपर्वको मुखमा सहुलीयत दरमा खाद्यान्न पाइन्छ भनेर टाढाटाढाबाट सामान लिन सहुलियत पसल पुग्ने गरेका छन् । तर निराशा बोकेर फर्कनु परेको छ । सरकारले स्थापना गरेका सहुलियत पसल नाम मात्रका छन् ।

सिंहदरवारस्थित रामशाह पथमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुपथ मूल्य पसलमा विहीबार नक्साल बस्ने रवी महर्जन चिनी र दाल तेल किन्न आएका थिए । उनले पसलमा चिनीको मूल्य सोध्नुअघि नै भित्तामा ‘चिनी छैन’ लेखेर टाँसेको देखे । फेरी उनले पसलमा बसेका कर्मचारीलाई ‘रातो दाल पाँच केजी राख्दिनु’ भने । कर्मचारीले रातो दाल पनि नभएको बताए । त्यसपछि उनले पुनः खाने तेलको मूल्य सोधे । कर्मचारीले लिटरको १६० रुपैयाँ पर्ने बताए ।

‘१७० मा त घर नजिकै पाइन्छ’ महर्जनले कर्मचारीलाई भने । कर्मचारीबाट कुनै जवाफ आएन । त्यसपछि उनी एक्लै भुत्भुताउन थाले– यो पनि छैन, त्यो पनि छैन । भएको सामान पनि बजार भाउमा नै छ । अनि केको सरकारको सहुलियत पसल ?

उनीपछि अर्की ग्राहकले पनि भनेको सामान पाइनन् । सहुलियत पसलमा दाल, चामल, खाने तेल, नुन, चिनीलगायतका सामान पाइन्छ भनेर सरकारले यसको प्रचारप्रसार समेत गरेको छ । तर, सरकार आफैंले न त प्रचार गरेजसरी ग्राहकलाई खाद्यवस्तु बितरण गरेको छ, न त बजार भाउभन्दा बेस्सरी सस्तो छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी भने सहुलियत पसल नाम मात्रको नभएको जिकिर गर्छ । खाद्यान्नको सहुलियत पसलको मूल उद्देश्य चाडपर्वका बेला हुन सक्ने कालोबजारी रोक्नु भएको बताउँछिन् खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदी । साल्ट ट्रेडिङले चिनी उपलव्ध नगराएकाले आफूहरुले ग्राहकलाई बिक्री गर्न नसकेको उनले बताइन् ।

खाद्यान्नले गत वर्षभन्दा यस बर्षबाट सुपथ पसलमा भेराइटी दिने कोशिस गरेको उनले बताइन् । तर पसलमा भेराइटी त परै जाओस् भनेको सामान पनि भेट्न मुस्किल छ । ग्राहकले समान नभेट्नुमा खाद्य व्यवस्थाले त्यसलाई आउट अफ स्टक (मौज्दात नरहनु) भएको भनेर टार्ने गरेको छ । पसलमा खाद्यान्न सकिए पनि त्यसको जानकारी ग्राहकलाई हुँदैन् र त्यसको कुनै उत्तरदायित्व खाद्यान्न लिने पनि गरेको छैन ।

ग्राहकको घट्दो आकर्षण

गत वर्षहरुमा सरकारले खोलेको सहुलियत पसलमा उपभोक्ता झुम्मिने गर्थे तर, ग्राहकले भनेको सबै सामान नभेटिने र बाहिरको भन्दा खासै सस्तो नहुने भएकाले सहुलियत पसलको आकर्षण घटेको छ ।

सहुलियत पसलसम्म पुग्ने समय र गाडीभाडा जोड्दा केही महंगो भए पनि आफ्नै वरीपरीका पसलमा सामान किन्दा फाइदा हुने बताउँछिन् मैतिदेवीकी गृहिणी सोभिता चौलागाई । सरकारले गत असोज १ गतेदेखि कार्तिक २४ गतेसम्मका लागि सुपथ मूल्य सञ्चालन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *