रुपन्देहीमा नेकपा एसबाहेकका उद्योगीको साझा प्यानल सार्वजनिक – Nepal Press

रुपन्देहीमा नेकपा एसबाहेकका उद्योगीको साझा प्यानल सार्वजनिक

रुपन्देही । रुपन्देही उद्योग संघको असोज २३ गते हुने निर्वाचनमा नेकपा एस निकट बाहेकको अन्य दल निकटका उद्योगीहरुको साझा प्यानल बनेको छ ।

संघको आगामी नेतृत्वका लागि एमाले निकट उद्योगी माधवप्रसाद पौडेलको नेतृत्वमा साझा प्यानल तयार भएको छ । रुपन्देही उद्योग संघको ४३ औ साधारणसभा तथा २२ औ अधिवेशन यहि असोज २३ गते हुन गइरहेको छ । हाल वरिष्ठ उपाध्यक्ष रहेका पौडेलको नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट उद्योगीहरुले साझा प्यानल तयार गरेका हुन् ।

संघको आगामी कार्यकालका लागि अध्यक्षमा पौडेलसहित वरिष्ठ उपाध्यक्षमा दिलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली र द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्लेलाई सहमति गरिएको छ । सापकोटा हाल प्रथम उपाध्यक्ष हुन् भने पराजुली द्वितीय उपाध्यक्ष र काफ्ले महासचिव हुन् ।

त्यसैगरी संघको महासचिवमा हालका कोषध्याक्ष हरिबहादुर खत्री र कोषाध्यक्षमा हालका सचिव हिरामणि भटराईलाई साझा उम्मेदवार बनाइने भएको छ । त्यसैगरी संघको सचिवमा हाल कार्यसमिति सदस्य रहेका बसन्त ढकाल र महिला सदस्यमा मन्जु भुसाललाई प्रस्ताव गरिएको छ । त्यसैगरी सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवालीलाई प्रस्ताव गरिएको छ ।

संघको आगामी नेतृत्व साझा बनाउनका लागि पहल गर्न पूर्वअध्यक्ष एजाज आलम, बोनिन पिया र निवर्तमान अध्यक्ष गणेश अधिकारीलाई जिम्मेवारी दिइएको संघका अध्यक्ष बाबुराम बोहोराले बताए ।

साझा उम्मेदवारको रुपमा प्रस्तावित पौडेलले आफूले सबै उद्योगी व्यवसायीलाई समेटेर अगाडि बढ्ने बताए । निश्चित पद र आकांक्षी धेरै हँुदा सबै साथीहरु पदीय हिसाबले समेटिन सक्नु भएन तर सबैलाई उद्योग संघमा क्रमशः भूमिका दिएर समेटिने छ– पौडेलले भने ।

रुपन्देहीका १ हजारभन्दा बढी उद्योगी आवद्ध रहेको संघमा एमाले निकट उद्योगीहरुको वर्चश्व रहेको छ । अहिले घोषणा भएको टिमको ९ सदस्यीय पदाधिकारीका कांग्रेस निकट उद्योगीलाई द्वितीय उपाध्यक्ष र महिला सचिव दिइएको छ भने माओवादी निकट उद्योगीलाई सहकोषाध्यक्ष दिएर प्यानल बनाइएको छ । नेकपा एस निकट उद्योगीलाई समेट्न खोजिए पनि पदाधिकारीमा धेरै आंकाक्षा गरेकाले मिलाउन नसकिएको एक उद्योगीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *