केही दिनभित्र सवा तीन करोड डोज खोप आइपुग्छ : स्वास्थ्य मन्त्रालय – Nepal Press

केही दिनभित्र सवा तीन करोड डोज खोप आइपुग्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । केही दिनभित्रै कोभिड-१९ विरुद्ध सवा तीन करोड डोज खोप नेपाल आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने बताए ।

आउन लागेका खोपहरुमा फाइजर, कोभिसिल्ड र भेरोसेल छन् । चीनले १० लाख डोज कोभ्याक्सिन खोप दिने घोषणा गरिसकेको छ । अधिकारीले भने, ‘कही दिनभित्रै कोभिसिल्ड आउने छ । अरू कम्पनीको खोप पनि आउँदैछन् ।”

मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले सवा तीन करोड मात्रा खोप आउने निश्चित भएको जानकारी दिए । चीनबाट थप १६ लाख मात्रा खोप अनुदानमा आउने भएको छ । मन्त्रालयका अनुसार दशैँलगत्तै एक लाख फाइजर खोप आउने छ । उक्त खोप अस्पतालमा रहेका दीर्घरोगीहरूलाई लगाइने छ । फाइजर खोप १२ देखि १८ वर्षसम्मका बालबालिकालाई समेत लगाउन मिल्ने खोप हो ।

माल्दिभ्सबाट दुई लाख मात्रा खोप पनि छिटै आउन लागेको बताइएको छ । क्यानडाबाट चार लाख मात्रा खोप आउने भएको छ । यसैगरी, फाइजर खोप ६० लाख मात्राका लागि पनि प्रक्रिया सुरु भइसकेको छ ।

मन्त्रालयका सहप्रवक्ता अधिकारीका अनुसार मोडर्ना खोप ४० लाखका लागि पनि सुनिश्चित भएर प्रक्रियामा रहेको छ । आगामी पुसभित्र सवा करोड खोप नेपाल आइसक्ने र नेपालले कोभ्याक्स सुविधामार्फत पाउने ६० लाख मात्रा खोप आउन बाँकी रहेको जानकारी उनले दिए ।

चीनसँंग खरिद सम्झौता भएको थप ६० लाख मात्रा खोप पनि नेपाल ल्याइने प्रक्रियामा छ । हालसम्म एक करोड ७८ लाख ५८ हजार मात्रा खोप यसअघि नै आइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *