नेपालको जितमा अब्दुल्लाहको उत्साह : गोलपछि यसरी नाचे (भिडियो) – Nepal Press

नेपालको जितमा अब्दुल्लाहको उत्साह : गोलपछि यसरी नाचे (भिडियो)

काठमाडौं । साफ च्याम्पियनसीप अन्तर्गत हिजो भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ नतिजाले स्तब्ध तुल्यायो । नेपालको जितमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको उत्साह अहिले चर्चाको विषय बनेको छ ।

पहिलो खेलमा माल्दिभ्यसलाई हराएको नेपाल दोस्रोमा श्रीलंकाविरुद्ध आत्मविश्वासपूर्वक मैदानमा उत्रिएको थियो । तर अनपेक्षित तवरले श्रीलंकाले सुरुदेखि खेल आफ्नो पकडमा राख्यो । नेपाल निरन्तर दबाबमा पर्दा मैदानबाहिर अब्दुल्लाह तनावग्रस्त देखिएका थिए । एकपटक नेपालविरुद्ध श्रीलंकालाई अम्पायरले फाउल दिएपछि प्रोटेस्ट गर्दा उनले पहेँलो कार्डसमेत खाए ।

खेलमा श्रीलंकाको दवदवाकै बीच नेपालले ३३ औं मिनेटमा गोल निकाल्यो । नेपालका स्ट्राइकर सुमन लामाले गरेको पहिलो प्रहारलाई श्रीलंकाका गोलरक्षकले सुन्दर बचाउ गरेपछि दोस्रो प्रहारमा उनले गोल गरेका थिए । गोलपछि नेपाली समर्थकहरु खुशीमा झुम्न थाले । यता, प्रशिक्षक अब्दुल्लाहले पनि आफ्नो उत्साह थाम्न सकेनन् । उनी दुवै हात हावामा फैलाएर नाच्न थाले ।

नेपालका लागि अञ्जन विष्टले दोस्रो र आयूष घलानले तेस्रो गोल गर्दा पनि प्रशिक्षक उति नै खुशी भए । खेल अवधिभर प्रशिक्षक अब्दुल्लाह टचलाइनबाहिर नेपाली टिमको हौसला बढाइरहेका थिए । उनको भागभंगिमाले अर्जेन्टिनाका भुतपूर्व प्रशिक्षक स्व‍ म्याराडोनालाई सम्झाइदिएको थियो ।

प्रशिक्षक अब्दुल्लाहको नाच अहिले टिकटकमा भाइरल भएको छ । समर्थकहरुले नेपाली फुटबलप्रति उनको यस्तो ‘प्यासन’ को सह्राहना गरेका छन् । मनैदेखि नेपाली टिमको जिम्मवारी वहन गरेको भनेर धन्यवाद दिएका छन् ।

भावुक स्वभावका अब्दुल्लाहले केही समयअघि प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका थिए । उनले सामाजिक सञ्जालमा यस्तो घोषणा गरे पनि फुटबल संघलाई राजीनामा भने बुझाएनन् ।

साफ च्याम्पियनसीपमा नेपाल फाइनल नजिक पुग्दा धेरैले उनलाई नै जस दिइरहेका छन् । यदि नेपाल फाइनलमा पुग्यो वा उपाधि जित्यो भने नेपाली फुटबलमा अब्दुल्लाहको अविस्मरणीय योगदान हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर