लालीगुँरास सहकारीको २३ औं वार्षिकउत्सव मनाइयो – Nepal Press

लालीगुँरास सहकारीको २३ औं वार्षिकउत्सव मनाइयो

ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सफलताको २२ औं वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । २३ औं वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष श्री अमरदास श्रेष्ठले भने, देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजना अघि बढाउदै लैजाने बताए । उनले पछिल्लो समय संस्थाविरुद्ध भएका केही अनर्गल प्रचारले संस्थालाई कुनै असर नपरेको स्पष्ट पारे ।

संस्थाको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा उनले करिब २३ हजार शेयर सदस्यको लगानीमा संचालित संस्थाले आगामी दिनमा थप प्रगति गर्दै अघि बढ्ने बताए । उनले भने, ‘केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा संस्थाको विषयमा भएको टिका टिप्पणी आधारहिन छ , यस्ले शेयर सदस्य र संस्थालाई कुनै असर पुगेको छैन । हामी यो विश्वस्त दिलाउन चाहन्छौ कि जनताको सेवामा समर्पित संस्थाले शेयर सदस्यको सुझाव र सल्लाहलाई सदैभ कदर गर्नेछौ । शेयर सदस्यको अटुट मायाको कारण संस्था थप उचाईमा पुग्न सफल भएको छ ।’

ललितपुर महानगरपालिका र संस्थाबीच भएको विवाद अदालतबाटै फैसला हुने जानकारी गराउदै उनले भने– हामी कानुनको विरुद्धमा कोहीपछि अघि बढ्न सक्दैनौ । महानगरपालिकासंग भएको मुद्धा सम्मानित उच्च र सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा कानुन अनुसारनै अघि बढ्नेछौं ।

दुई दशक लामो इतिहास बोकेको संस्थाले काठमााडौंको चाबहिल र न्युरोड, ललितपुरको चापागाउँ, भक्तपुरको कौशलटार र सूर्यविनायक र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको छ । गतवर्ष देखि संस्थाले पुल्चोकस्थित मुख्य कार्यालयमा एटीएम सेवा सञ्चालन गरिसकेको छ । संस्थाअन्तर्गतका विभिन्न क्षेत्रमा करिब ४ सयभन्दा बढी प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराएको संस्था नेपाल वागमती प्रदेशको उत्कृष्ठ संस्थाको रुपमा परिचीत बनाउन सफल भैसकेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

डिभिजन सहकारी कार्यालय ललितपुरमा वि.सं २०५६ साल भदौ १८ गते दर्ता भई वि.सं २०५६ साल असोज १५ गतेबाट कारोबार सुरु गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्यक्षेत्र तर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि. शिक्षाक्षेत्र तर्फ काठमाडौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि./कलेज प्रा.लि. डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुरको गोदावरीमा लालीगुँरास दुग्ध प्रसोधन उद्योग , उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरबकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ ।

संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सदस्य सुविधा काउण्टरलाई वृद्धी गरी निकट भविष्यमा देशको विभिन्न जिल्लाहरु र राजधानीको केही उपयुक्त स्थानहरुमा थप संचालन गरी संस्थाले आफ्नो सेवाहरु विस्तार गर्ने जानकारी दिए ।

उनले संस्थाप्रति भएको अनर्गल प्रचारले कुनै असर नपरेको उल्लेख गर्दै सम्पुर्ण शेयर सदस्यको असिम मायाको कारण हालसम्म उत्कृष्ठ सहकारीको रुपमा अग्रणी स्थान हासिल गर्न सफल भएको बताए । उनले संस्थाको लागानीमा सञ्चालित डेरी उद्योगलाई मुलुककै उत्कृष्ठ उद्योगको रुपमा विकास गर्ने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *